पूर्वमा पहिलो पटक राउटे मेला : उत्साहसँगै सामाजिक संवेदनशीलतामाथि प्रश्न

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ४, सोमबार १७:५०
तस्बिर सौजन्य : प्रेम देवान

विराटनगर । कर्णाली प्रदेशका जंगलहरुमा फिरन्ते जीवन बिताउने लोपोन्मुख राउटे समुदाय पहिलो पटक औपचारिक कार्यक्रमका लागि पूर्वी नेपाल आइपुगेका छन् ।

मोरङको मिक्लाजुङ गाउँपालिकास्थित ‘निशेलुङ पार्क’मा आयोजना गरिएको ‘एक घुमन्ते सभ्यता, लोपोन्मुख राउटे जाति मेला’मा उनीहरु आएका हुन् । यो मेलाले एकातिर पर्यटकीय चहलपहल बढाएको छ भने अर्कोतिर सामाजिक संवेदनशीलता र मानवीय मर्यादाको विषयमा गम्भीर प्रश्न सिर्जना गरेको छ ।

Advertisement

याक्थुङ भिलेजले आयोजना गरेको मेलामा राउटे समुदायका ८ महिला र ११ पुरुष गरी १९ जना सहभागी छन् । उनीहरूलाई जेठ १० गतेसम्मका लागि दैनिक १ हजार ५ सय रुपैयाँ भत्ता दिने सर्तमा ल्याइएको याक्थुङ भिलेजका सञ्चालक अशोक चेम्जोङले बताए । मेला अवलोकनका लागि प्रतिव्यक्ति २०० रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । जुन रकम राउटेहरूको व्यवस्थापन र बसोबास खर्चमा प्रयोग गरिने उनले बताए ।

राउटेहरूलाई राखिएको दृश्य र उनीहरूलाई हेर्न लाग्ने शुल्कले कतिपय सामाजिक अगुवाहरूलाई झस्काएको छ । उनीहरूले यसलाई ‘मानवीय प्रदर्शनी’को संज्ञा दिँदै आलोचना गरिरहेका छन् । राउटेहरू पूर्व आइपुगेसँगै टिकटक र युट्युब बनाउनेहरूको ठूलो भिड लागेको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका केही भिडियोहरूमा राउटे समुदायको गोपनीयता र मर्यादामाथि प्रहार भएको देखिन्छ ।

एक भिडियोमा बुम बोकेका युवकले एक वृद्ध राउटे पुरुषलाई उनीहरूको समुदायकी महिलाप्रति लक्षित गर्दै असभ्य प्रश्न सोधेको देखिन्छ । ‘एउटी चाहिँ मन परिसक्यो रे उहाँलाई, यतै राख्ने अरे’ जस्ता टिप्पणी र राउटेहरूको टहराभित्रै पसेर व्यक्तिगत प्रश्न सोध्ने कार्यले उनीहरूको गोपनीयताको हनन भएको हो ।

राउटेहरूको आगमनले मिक्लाजुङको पहाडी क्षेत्रमा भने उल्लेख्य आर्थिक चहलपहल बढेको छ । आयोजकका अनुसार दैनिक ४ देखि ५ हजार मानिस मेला हेर्न पुग्ने गरेका छन् । मिक्लाजुङको रमिते र धोबेनी क्षेत्रका होटल र पसलहरूमा दैनिक लाखौँको कारोबार भइरहेको छ । राउटेहरूले आफूले बनाएका काठका सामग्रीहरू बिक्री गरेर पनि अतिरिक्त आम्दानी गरिरहेका छन् ।

लामो समयदेखि राउटेको क्षेत्रमा काम गर्दै आएका पत्रकार नगेन्द्र उपाध्यायका अनुसार यो उनीहरूको पहिलो औपचारिक पूर्व यात्रा हो । ‘मेला महोत्सवमा राउटेहरू जानु नयाँ कुरा होइन । तर, पूर्वमा यो पहिलो हो । यसअघि चितवनसम्म पुगेका थिए,’ उनले भने ।

मेलाकै क्रममा राउटेहरूमा आधुनिक जीवनशैलीको प्रभाव पनि देखिन थालेको छ । राउटे महिलाहरूले पर्फ्युम (सुगन्ध) प्रयोग गर्न रुचि देखाएका छन् भने उनीहरूलाई आधुनिक तरिकाले खाना पकाउन समेत सिकाइएको छ ।

नेपालमा मात्र १३३ जनाको संख्यामा रहेका राउटे समुदायको आफ्नै मौलिक नियम र संस्कार छ । आयोजकले आचारसंहिता जारी गरे पनि भिडियो बनाउनेहरूको अराजकताले राउटेको सामाजिक पहिचानमा प्रहार भइरहेको सरोकारवालाहरु बताउँतछन् ।

लोपोन्मुख जातिको पहिचान र संस्कृतिलाई चिनाउने नाममा उनीहरूको मानवीय संवेदनालाई व्यापारिक वस्तु बनाइनु हुँदैन भन्ने तर्क सामाजिक सञ्जालमा व्याप्त छ । ‘अहिले मोरङको मिक्लाजुङमा राउटे समुदायको प्रदर्शनी चलिरहेको छ । यो कुनै हालतमा उचित होइन,’ मोरङको रंगेलीस्थित आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक विश्वरसिंह मेवाहाङले भने, ‘कुनै पनि समुदायको आफ्नो निजी संस्कार र परम्परा हुन्छ । यसलाई प्रदर्शनी गर्नु र सस्तो प्रचारबाजी गर्नु गैरसामाजिक र गैरकानुनी हो ।’

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेल मानवीय संवेदनमाथि खेलवाड गर्न नहुने बताउँछन् । शुल्क लिएर मेला आयोजना गरिएको भए पनि मेलाको स्वीकृत लिएको वा नलिएको विषयमा भने बुझेर प्रक्रिया अघि बढाइने उनको भनाइ छ । ‘यसरी मेला आयोजना गर्दा प्रवेश शुल्क स्वीकृत हुनुपर्छ,’ प्रजिअ कटेलले भने, ‘राउटे समुदायको स्वीकृतिमा आयआर्जनका लागि गरिएको भए फरक कुरा हो । तर, त्यसरी गर्दा लिने शुल्कका बारेमा स्वीकृति लिनुपर्छ ।’

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.