आयोडिनविहीन नुन बिक्रीमा प्रतिबन्ध लगाउन विज्ञहरूको माग

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार ०९:१०
आयोडिनविहीन नुन बिक्रीमा प्रतिबन्ध लगाउन विज्ञहरूको माग

झापा । नेपालमा आयोडिनविहीन नुनको अनियन्त्रित बिक्री वितरणका कारण जनस्वास्थ्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिकित्सक तथा जनस्वास्थ्यकर्मीहरूले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय उपभोक्ता मञ्चद्वारा झापामा आयोजित एक कार्यक्रममा उनीहरूले आयोडिनविहीन नुनको आयात र बिक्रीमा तत्काल प्रतिबन्ध लगाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

नेपाल–भारत खुला सीमाका कारण यहाँका सुपर मार्केट र खाद्यान्न पसलहरूमा भारतीय आयोडिनविहीन नुन, ‘हिमालयन पिंक साल्ट’ र ‘ब्ल्याक साल्ट’ का नाममा मापदण्ड विपरीतका नुनहरू खुलमखुला बिक्री भइरहेको पाइएको छ । चिकित्सकहरूका अनुसार यस्ता नुनमा आयोडिनको मात्रा शून्य हुने भएकाले यसले विशेष गरी बालबालिका र गर्भवती महिलाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याइरहेको छ ।

Advertisement

सरकारले २०८२ साल साउनदेखि नुन बिक्री वितरणमा निजी क्षेत्रलाई अनुमति दिएपछि बजारमा गुणस्तरहीन नुनको प्रवेश बढेको विज्ञहरूको तर्क छ । बालरोग विशेषज्ञ डा. टंक बह्राराकोटी भन्छन्, ‘श्रीलंकाले अहिले आयोडिनको कमीका कारण ठुलो स्वास्थ्य समस्या भोगिरहेको छ, नेपालमा पनि त्यस्तै नियति दोहोरिन नदिन आयोडिनविहीन नुनमा तत्काल रोक लगाउनुपर्छ ।’

जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासका अनुसार आयोडिनको कमीले बालबालिकामा सुस्त मनस्थिति, पढाइमा कमजोरी, शारीरिक विकासमा अवरोध र वयस्कमा गलगाँड, थाइराइड तथा प्रजनन क्षमतामा ह्रास जस्ता समस्या देखिन्छन् ।

सरकारले निर्धारण गरेको मापदण्ड अनुसार नुन उत्पादन गर्दा ५० पिपिएम, बिक्री गर्दा ३० र भान्सामा प्रयोग गर्दासम्म कम्तीमा १५ पिपिएम आयोडिन हुनुपर्छ । तर, हाल बजारमा उपलब्ध कतिपय नुनमा आयोडिनको मात्रा भेटिएको छैन ।

नेपालले विगतका दशकमा गलगाँड (कण्ठ रोग) निवारणमा ऐतिहासिक सफलता हात पारेको छ । सन् १९६५ मा ५५ प्रतिशतमा रहेको गलगाँडको समस्या साल्ट ट्रेडिङ कर्पोरेसनको व्यवस्थित वितरणका कारण हाल शून्यमा झरेको छ । तर, बजारमा बढ्दो आयोडिनविहीन नुनको प्रयोगले यो उपलब्धिलाई नै धरापमा पार्ने देखिएको छ ।

बिर्तामोड नगरपालिकाकी प्रमुख पवित्रा महतारा प्रसाईंले स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता नुनको बिक्री रोक्न बजार अनुगमन तीव्र पारिने प्रतिबद्धता व्यक्त गरिन् । त्यस्तै, सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईंले सीमा नाकामा कडाइ र उपभोक्ता सचेतनामा जोड दिने बताए ।

साल्ट ट्रेडिङ कर्पोरेसनले हालसम्म पर्याप्त मात्रामा आयोडिनयुक्त नुन आपूर्ति गरिरहेको र आगामी ६ महिनालाई पुग्ने मौज्दात रहेको जनाएको छ । सरकारले ‘दुई बालबालिका’ अंकित चिह्न भएको आयोडिनयुक्त नुन मात्र प्रयोग गर्न सर्वसाधारणलाई आग्रह गर्दै आएको छ ।

तपाइको प्रतिक्रिया
सामान्य विवाददेखि गोलीकाण्डसम्म : कप्तानगन्जमा कहाँ चुक्यो राज्य ?
कप्तानगन्ज घटनापछि सुरक्षामा व्यापक हेरफेर : कोशीका डीआईजी, सुनसरीका सीडीओ र एसपीलाई जिम्मेवारीबाट हटाइयो
कप्तानगञ्ज गोलीकाण्डबारे मानव अधिकार आयोगले सुरु गर्‍यो अनुसन्धान
१२ अर्ब ६३ करोडको अलैंची निर्यात
साताको पहिलो दिन नेप्से ३३ अङ्कले घट्यो, ६ अर्ब बढीको कारोबार
जटिल बन्दै सुनसरीको सुरक्षा अवस्था : जथाभावी आक्रमण, आगजनी र तोडफोड
कप्तानगन्ज घटनापछि सर्वदलीय प्रतिबद्धता : सद्भाव जोगाउन सबै पक्ष एक ठाउँमा
कप्तानगञ्ज घटना : सांसद साहद्वारा सुरक्षा अधिकारीहरूमाथि कारबाही माग
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
सांसदलाई पीए सुविधा : सर्वोच्चले माग्यो सरकारसँग लिखित जवाफ
मालवाहक गाडी फस्दा केचना–कञ्चनजङ्घा करिडोर अवरुद्ध
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×