विराटनगरमा ग्यास बुलेटको ठक्करबाट बाबु–छोरीको मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ५, मंगलबार १९:२३

विराटनगर । कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–१४ हनुमान मन्दिर अगाडि मंगलबार अपरान्ह ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार बाबु–छोरीको मृत्यु भएको छ ।

मोरङ ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सन्तोष न्यौपानेका अनुसार विराटनगरबाट रानीतर्फ जाँदै गरेको एएस ०१ एफसी ०९१९ नम्बरको एलपी ग्यास बुलेटले साइकलमा यात्रा गरिरहेकालाई ठक्कर दिएको थियो । सडकमा गुडिरहेको बुलेट आईसीपीतर्फ मोड्ने क्रममा अन्दाजी ४ः५० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Advertisement

दुर्घटनामा परेर साइकलमा सवार विराटनगर–१४ जतुवाका ४५ वर्षीय शिवचरण ठाकुर र उनकी छोरी १३ वर्षीया गरिमा ठाकुरको मृत्यु भएको इन्स्पेक्टर न्यौपानेले बताए । गम्भीर घाइते अवस्थामा कोशी अस्पताल पुर्‍याएपछि बाबु–छोरीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । घटनापछि ग्यास बुलेट र चालक भारत घर भएका ४५ वर्षीय रामलाल सहनीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दर्घटनास्थलमा ठूलो भिड जम्मा भएको छ । आक्रोशित भिडले बुलेटसमेट तोडफोड गरेको प्रहरीले जनाएको छ । तोडफोडबाट बुलेटको अगाडिको भागमा क्षति पुगेको छ ।

प्रहरीले भिडलाई सम्झाइबुझाइ गरेर स्थितिलाई नियन्त्रणमा लिने प्रयास गरिरहे पनि सम्भव भइरहेको छैन । मृतक दुवै जनाको शव अस्पतालमै रहेको र घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

विराटनगरमा ग्यास बुलेटको ठक्करबाट साइकलमा सवार बालिकासहित दुई जनाको मृत्यु

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.