
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच चीनको राजधानी बेइजिङमा उच्चस्तरीय भेटवार्ता सम्पन्न भएको छ ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले रुसी राष्ट्रपति पुटिनको ग्रेट हल अफ द पिपलमा विशेष समारोह आयोजना गर्दै उनको स्वागत गरेका हुन् । भेटका क्रममा राष्ट्रपति पुटिनले रुस–चीन सम्बन्ध अहिले उच्च स्तरमा पुगेको बताएका छन् ।
उनले दुई देशबीचको सहकार्य ऊर्जा, व्यापार, प्रविधि, सुरक्षा तथा अन्तर्राष्ट्रिय कूटनीतिक विषयमा निरन्तर विस्तार भइरहेको उल्लेख गरे । पुटिनले विश्व राजनीतिमा बदलिँदो परिस्थितिका बीच मस्को र बेइजिङबीचको रणनीतिक साझेदारी अझ बलियो बन्दै गएको धारणा व्यक्त गरे ।
त्यसैगरी, चिनियाँ राष्ट्रपति सी जिनपिङले पनि रुस र चीनबीचको सम्बन्ध दीर्घकालीन स्थायित्व, पारस्परिक सम्मान तथा साझा हितमा आधारित रहेको बताए । उनले दुवै देशले विश्व शान्ति, बहुध्रुवीय अन्तर्राष्ट्रिय व्यवस्था तथा आर्थिक सहकार्यलाई अघि बढाउन संयुक्त प्रयास गरिरहेको उल्लेख गरे ।
वार्तामा व्यापार विस्तार, ऊर्जा आपूर्ति, पूर्वाधार विकास, रक्षा सहकार्य तथा अन्तर्राष्ट्रिय मुद्दामा साझा समन्वयका विषयमा छलफल भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।



















