बैंकका सिइओसहित चार उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ ६, बुधबार १४:१९
बैंकका सिइओसहित चार उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता

झापा । ग्लोबल आइएमई बैंकका कर्मचारी पीताम्बर खड्काले आत्महत्या गर्नुअघि सामाजिक सञ्जालमा राखेको ‘सुसाइड नोट’ का आधारमा बैंकका सिइओ सुरेन्द्रराज रेग्मीसहित ४ उच्च अधिकारीविरुद्ध आत्महत्या दुरुत्साहनको किटानी जाहेरी दर्ता भएको छ ।

खड्काको आत्महत्या प्रकरणमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहित चार जना उच्च पदाधिकारीविरुद्ध किटानी जाहेरी दर्ता भएको हो । मृतकका परिवारले बैंकको शीर्ष नेतृत्वका कारण खड्काले आत्महत्या गर्नुपरेको आरोप लगाउँदै इलाका प्रहरी कार्यालय दमकमा जाहेरी दिएका हुन् ।

Advertisement

जाहेरीमा बैंकका सिइओ सुरेन्द्रराज रेग्मी, डेपुटी सिइओ सुमन पोखरेल, उपमहाप्रबन्धक दीपचन्द्र रेग्मी र मानव संसाधन विभाग प्रमुख अनामिका कुँवर सिंहलाई प्रतिवादी बनाइएको प्रहरीले जनाएको छ । झापाको दमक–८ का ४२ वर्षीय खड्का सोमबार साँझ आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेका थिए ।

आत्महत्या गर्नुअघि खड्काले फेसबुकमा आरोपित चारै अधिकारीको तस्बिर राख्दै आफू चरम मानसिक दबाबमा रहेको उल्लेख गरेका थिए । विराटनगर शाखामा कार्यरत खड्काले कार्यस्थलमा भोग्नुपरेको तनावकै कारण यस्तो निर्णय लिएको परिवारको दाबी छ ।

हाल सिइओ रेग्मी मुलुकबाहिर रहेको र अन्य अधिकारीमाथि अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ । दोषीलाई कारबाही नभएसम्म परिवारले शव बुझ्न इन्कार गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.