
विराटनगर । अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित रियालिटी सो ‘मास्टर शेफः द प्रोफेसनल’ मार्फत नेपाली खानालाई विश्वमा चिनाउन सफल सेफ सन्तोष साहले विराटनगरमा आफ्नो चर्चित ब्रान्ड ‘मिथिला थाली’ र ‘जनकपुर फिस हाउस’ सञ्चालनमा ल्याएका छन् ।
कोशी राजमार्गअन्तर्गत विराटनगरस्थित दुधफार्म (डीडीसी) अगाडि यो नयाँ आउटलेट सञ्चालनमा आएको हो । मिथिला क्षेत्रको मौलिक स्वाद र संस्कृतिको संरक्षण गर्ने उद्देश्यका साथ एउटै छानामुनि दुवै ब्रान्डलाई विस्तार गरिएको सेफ साहले जानकारी दिए ।
विराटनगरमा खुलेको यो आउटलेट ‘मिथिला थाली’ को पाँचौँ शाखा हो । यसअघि जनकपुरका साथै काठमाडौंको झम्सिखेल, नक्साल (गैरीधारा) र गौशालामा यसका शाखाहरू सफलतापूर्वक सञ्चालनमा छन् ।
विस्तारका क्रममा सेफ साहले भने, ‘मिथिला संस्कृति र परिकारलाई देशका मुख्य सहरहरूमा पुर्याउने हाम्रो लक्ष्य हो । बाल्यकालदेखि नै जुन खानपान र संस्कृतिमा हुर्किएँ, त्यसैलाई अहिले व्यावसायिक रूपमा प्रवर्द्धन गरिरहेको हो ।’

यस आउटलेटमा मिथिला क्षेत्रका रैथाने परिकारहरू पस्किइने छ । मुख्य आकर्षणका रूपमा रहेको ‘मिथिला थाली’ मा तरुवा, तिलौरी, विरिया, कडिवडि, चोखा, भात, घिउ रोटी र सलाद जस्ता परिकार समावेश छन् ।
त्यस्तै, ‘जनकपुर फिस हाउस’ अन्तर्गत १० प्रकारका माछाका परिकार उपलब्ध हुनेछन् ।
यहाँको ‘स्पेसल तावा फिस’ सँगै जनकपुरी मुरी (साँदेको खट्टे) र मुलाको अचार विशेष आकर्षणको रूपमा रहने छन् । यसबाहेक सेकुवामा ‘पानी सेकुवा’, तावा फ्राई ट्राउट, लोकल तावा झिँगे माछा, क्रिस्पी फ्राई प्राउन, जनकपुरे लस्सी, सातु र जनकपुरे पानको स्वाद पनि ग्राहकले लिन पाउने छन् ।
यो रेस्टुरेन्ट केवल खानपानको केन्द्र मात्र नभई मिथिला कलाको प्रदर्शनी स्थल पनि बनेको छ । प्रवेशद्वारदेखि भित्तासम्म मिथिला चित्र कलाले सजाइएको छ । स्थानीय कलाकारहरूले बनाएका कलाकृतिहरू यहाँ प्रदर्शनीमा राखिएका छन्, जसलाई ग्राहकले खरिदसमेत गर्न सक्ने छन् । यसले स्थानीय कलाकारहरूको आर्थिक स्तर वृद्धिमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
प्रारम्भिक चरणमा १ सय जनाको क्षमता रहेको यस आउटलेटलाई निकट भविष्यमै २५० जनासम्म अट्ने गरी विस्तार गरिने योजना छ । यहाँ सेमिनार, गोष्ठी र विभिन्न कार्यक्रमका लागि छुट्टै हलको व्यवस्था समेत गरिएको छ ।
स्थानीय नेपाली ग्राहकका साथै सीमावर्ती भारतीय पर्यटकहरूलाई समेत लक्षित गरी सञ्चालनमा ल्याइएको यस रेस्टुरेन्टको मूल्य दर सर्वसाधारणका लागि सुलभ राखिएको सेफ साहले बताए ।

विराटनगरमा पछिल्लो समय पाँचतारे होटेल र अन्तर्राष्ट्रिय चेन रेस्टुरेन्टहरूको आकर्षण बढ्दै गएको सन्दर्भमा, सेफ साहको यो नयाँ प्रयासले विराटनगरलाई ‘फुड हब’का रूपमा विकास गर्न थप टेवा पुग्ने देखिएको छ ।
सेफ साह पछिल्लो समय अमेरिका, युरोप, न्युजिल्यान्ड, अस्ट्रेलिया र जापानमा नेपाली रैथाने परिकारको पप–अप सो गर्दै आएका छन् । ती कार्यक्रममा उनले विभिन्न समुदायका करिब डेढ दर्जन मौलिक परिकार प्रस्तुत गर्ने गरेका छन्, जसको अन्तर्राष्ट्रिय माग बढ्दो छ ।
स्वदेशमा भने उनले ‘मिथिला थाली’ ब्रान्ड विस्तारमा जोड दिएका छन्। मिथिला खानाको ब्रान्डिङपछि अर्को स्थानीय खाना ‘थारु’ कला र खानको प्रवर्द्धन गर्ने योजना रहेको बताए । उनले भने, ‘हाम्रो देशमा यत्ति धेरै जातजातिका खानका विभिन्न परिकारका साथै स्थानीय उत्पादन छन्, जसको हामीले प्रचारप्रसार गर्न सकेका छैनौँ । हामीले बाहिरी देशको खानाको भन्दा पनि स्थानीय खानाको प्रचारप्रसार गर्न सक्यौँ भने स्वदेशी तथा विदेशीहरूले धेरै मन पाउने छन् । यसले गर्दा यहाँको आर्थिक स्तरको वृद्धिमा ठुलो टेवा पुग्ने विश्वास लिएको छु ।’
विदेशमा जाँदा जहिले पनि नेपाली खानाको मात्रै ‘डेमो’ बनाएर देखाउने गरेको बताउँदै, सेफ साहले भने, ‘विदेशका जुनसुकै देशमा जाँदा नेपाली खाना सबैले मन पराएको पाएको छु । उनीहरूले त्यही बसेर रेस्टुरेन्ट खोल्न आग्रह गर्ने गरेका छन् । तर, म विदेशमा होइन स्वदेशमै मेहनतका साथ काम गरे यहीँ नाम, दाम कमाउन सकिन्छ भनेर विदेश नगई स्वदेशमै खानाको प्रचारप्रसार गर्दै आएको हुँ ।’
हाम्रो देशको हिमाली, पहाडी र तराई क्षेत्रमा पाइने धेरै वनस्पति छन्, जसले हाम्रो खानालाई स्वादिष्ट बनाउनुका साथै स्वास्थ्यलाई धेरै राम्रो गर्छ । त्यस्ता वनस्पतिको हामीले राम्रोसँग पहिचान गर्न सकेका छैनौँ, उनले भने, ‘अब यस्ता वनस्पतिको पहिचान गरी व्यवसायी रूपमा खेती गरे स्वदेश र विदेशमा बिक्रीवितरणबाट राम्रो आम्दानी गर्न सकिन्छ ।’



















