कोशी प्रदेशको बजेट खर्च र आम्दानी दुवै निराशाजनक

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १०, आइतबार १३:३०

विराटनगर । कोशी प्रदेश सरकारको चालु आर्थिक वर्ष २०८२/०८३को पहिलो १० महिनाको खर्च र आम्दानीको अवस्था निराशाजनक छ । विगत तीन वर्षको तुलनामा याे वर्ष बजेट खर्च र आन्तरिक आम्दानी दुवैमा गिरावट आएको हाे ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार वैशाख मसान्तसम्म प्रदेश सरकारले १३ अर्ब ७ करोड ११ लाख रुपैयाँ खर्च गरेको छ । याे कुल बजेटको ३६.२९ प्रतिशत हाे । गत वर्षको सोही अवधिमा ४७.४ प्रतिशत खर्च भएको थियो ।

Advertisement

मन्त्रालयगत रूपमा बजेट निर्माण गर्ने मुख्य निकाय आर्थिक मामिला मन्त्रालयको खर्च सबैभन्दा न्यून छ भने सामाजिक विकास मन्त्रालयले सबैभन्दा बढी छ ।

खर्चसँगै प्रदेशको आम्दानी पनि लक्ष्य अनुसार हुन सकेको छैन । सरकारले १० महिनामा वार्षिक लक्ष्यको ६९.४८ प्रतिशत मात्र आम्दानी गरेको छ । आन्तरिक राजस्व ५ अर्ब ५० करोडको लक्ष्य राखिएको थियाे । तर, ३ अर्ब ४९ करोड मात्र संकलन भएको छ, जुन गत वर्षको तुलनामा ७ प्रतिशतले कम हो ।

सङ्घीय सरकारबाट प्राप्त हुने समानीकरण, सशर्त र विशेष अनुदानमा पनि गिरावट आएको छ । कुल राजस्व तथा अनुदान प्राप्ति गत वर्षको तुलनामा २.०८ प्रतिशतले घटेको छ ।

कुल ३२ अर्ब ७४ करोड ९९ लाख आम्दानी गर्ने लक्ष्य लिएको सरकारले वैशाख मसान्तसम्म २२ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ मात्र संकलन गर्न सकेको छ । आम्दानी र खर्च दुवैमा आएको ह्रासले आगामी वर्षको बजेट निर्माण र कार्यान्वयनमा थप दबाब सिर्जना भएकाे छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.