
झापा । मिहिनेत गरेर उब्जाएको तरकारीले बजारमा उचित मूल्य नपाउँदा देशभरका किसान मारमा परिरहेका बेला झापाको बिर्तामोड नगरपालिकाले भने उदाहरणीय कार्य सुरु गरेको छ । नगरपालिकाले तरकारीको ‘न्यूनतम समर्थन मूल्य’ तोकेर किसानलाई लागत अनुदान उपलब्ध गराउन थालेपछि यहाँका किसानहरू उत्साहित भएका छन् ।
उत्पादन लागतसमेत उठाउन नसकेर तरकारी बारीमै कुहाउनुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले यो नीति ल्याएको हो । नगरपालिकाले विभिन्न २६ जातका तरकारीको समर्थन मूल्य निर्धारण गरेको छ। किसानले बजारमा तरकारी बिक्री गर्दा तोकिएको न्यूनतम मूल्यभन्दा कम पाएमा, त्यसबापतको घाटा रकम नगरपालिकाले ‘लागत अनुदान’का रूपमा उपलब्ध गराउने व्यवस्था छ ।
बिर्तामोडका किसान प्रदीप खनालले गत वर्ष उनले उत्पादन गरेको बोडी र काउलीले बजारमा राम्रो मूल्य पाएन । तर, नगरपालिकाले तोकेको संकलन केन्द्रमा आफ्नो उत्पादन बुझाएका खनाललाई नगरपालिकाले ५ लाख ३४ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको बताए ।
बजार मूल्य कम भए पनि नगरपालिकाबाट क्षतिपूर्ति पाएपछि खनालले अहिले थप जमिन भाडामा लिएर व्यावसायिक तरकारी खेती विस्तार गरेको बताए ।
बिर्तामोडका २४ जना किसानले गत वर्ष यस्तो अनुदान प्राप्त गरेका थिए । यस कार्यक्रमका लागि नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा १५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो भने कार्यक्रमको प्रभावकारितालाई हेर्दै चालु आर्थिक वर्षमा उक्त बजेट बढाएर २० लाख पुर्याइएको नगरपालिकाले जनाएको छ ।
किसानमुखी योजना बनाउन अन्य स्थानीय तह र सरकारहरू चुकिरहेका बेला बिर्तामोडको यो कदमले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित मात्र गरेको छैन, तरकारीको आयात प्रतिस्थापनमा समेत ठुलो टेवा पुर्याउने विश्वास गरिएको छ। अब बिर्तामोडका किसानलाई आफ्नो उत्पादनले बजार नपाउला कि वा घाटा होला कि भन्ने चिन्ता हटेको बताइएको छ।

























