
विराटनगर । कोशी अस्पतालले ब्लड बैंक र चस्मा पसल सञ्चालनमा ल्याएको छ । रगतको अभावका कारण बिरामी र तिनका आफन्तले सास्ती खेपिरहेकै बेला अस्पतालले आफ्नै संरचनामा ब्लड बैंक स्थापना गरेको हो ।
अस्पतालले गत पुस महिनामा टेन्डर आह्वान गरी आवश्यक पूर्वाधार निर्माण र उपकरण जडानको प्रक्रिया सुरु गरेको थियो । ब्लड बैंक र चस्मा घरको उद्घाटन अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर रामनारायण चौधरीले गरे । ब्लड बैंकको स्थापना २४ लाखको लागतमा भएको हो ।
अस्पतालका प्रशासन प्रमुख त्रिलोचन न्यौपानेका अनुसार अब अस्पतालमै रगत सङ्कलन, परीक्षण र भण्डारणको प्रक्रिया छिटो हुनेछ । ‘अहिलेसम्म हामी बाह्य निकाय रेडक्रसमा निर्भर थियौँ,’प्रशासन प्रमुख न्यौपानेले भने,‘अब अस्पतालमै ब्लड बैंक सञ्चालनमा ल्याएका छौँ, बिरामीले छिटो र सहज रूपमा सेवा पाउनेछन् ।’
ब्लड बैंकसँगै अस्पतालले आँखा विभागमा बढ्दो सेवाग्राहीको चापलाई ध्यानमा राख्दै आफ्नै परिसरभित्र चस्मा पसल पनि सञ्चालनमा ल्याएको छ । यसअघि अस्पतालमा चस्मा उपलब्ध नहुँदा बिरामी बाहिरका निजी पसलमा जान बाध्य थिए, जसले गर्दा उनीहरूको समय र खर्च दुवै बढी लाग्ने गरेको थियो । आँखा विभागमा आउने बिरामीको सङ्ख्या बढ्दै गएका कारण चस्मा घर सञ्चालन गरिएको हो ।
अस्पतालका अनुसार स्वास्थ्य बीमा गरेका बिरामीले बीमाअन्तर्गत १,००० रूपैयाँसम्मको चस्मा निःशुल्क प्राप्त गर्न सक्नेछन् भने बीमा नभएका सेवाग्राहीले पनि सहुलियत दरमा चस्मा खरिद गर्न पाउनेछन् । हाल अस्पतालको आँखा विभागमा दैनिक औसत ४० जना बिरामीले ओपिडी सेवा लिइरहेका छन् ।

























