
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिका-१ मा कारभित्र मृत फेला परेकी ४५ वर्षीया रश्मी रिजालले आत्मदाह गरेको अनुसन्धानबाट खुलेको छ । काठमाडौंको नक्सालस्थित सानिमा क्यापिटल लिमिटेडकी मर्चेन्ट हेडका रूपमा कार्यरत रिजाल साउन ८ गते बिहानदेखि बेपत्ता भएकी थिइन् ।
तारकेश्वरस्थित कालेबासे चुनीदेवी बालुवा प्रशोधन केन्द्र नजिकै रोकिराखिएको बिएई ०४१० नम्बरको ईभी कारको पछिल्लो सिटमा शनिबार उनको शव जलेको अवस्थामा भेटिएको थियो । आइतबार त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपश्चात शव परिवारलाई हस्तान्तरण गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए ।
प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार घरबाट निस्केकी रिजाल पेट्रोल बोकेर सिधै घटनास्थल पुगेकी थिइन् । सिसिटिभी फुटेज विश्लेषण गर्दा घटनास्थलमा अन्य व्यक्तिको उपस्थिति नदेखिएको र उनले गाडीको एयर कन्डिसन अन गरी बाहिर शरीरमा पेट्रोल छर्केर भित्र छिरेपछि आगो लगाएको पाइएको छ । प्रहरीले गाडीभित्रबाट जलेको अवस्थामा तीन वटा लाइटर समेत बरामद गरेको छ ।
पछिल्लो समय काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा आत्मदाह र आत्मदाह प्रयासका घटनाहरू शृङ्खलाबद्ध रूपमा बढ्दै गएका छन् । असार २५ यता काठमाडौंमा मात्रै ७ वटा र उपत्यकाबाहिर ३ वटा गरी १० वटा यस्ता घटना भइसकेका छन् ।
यसअघि असार २५ मा त्रिपुरेश्वरमा मुगुका गणेश नेपालीले आत्मदाह गरेका थिए भने असार २७ मा बुद्धनगरमा अश्विन राउत र साउन ५ मा कीर्तिपुरमा व्यवसायी सुरेशचन्द्र श्रेष्ठले कारभित्रै आत्मदाह गरेका थिए । यस्तै काठमाडौंमै अन्य दुई जनाको आत्मदाह प्रयासलाई प्रहरीले विफल तुल्याएको थियो। उपत्यकाबाहिर सर्लाही, सप्तरी र रौतहटमा पनि आत्मदाहका घटनाहरू दर्ता भएका छन् ।

























