
विराटनगर । विराटनगरबाट स्रोत नखुलेको नेपाली रूपैयाँसहित आाइतबार दिउँसो एक जना पक्राउ परेका छन् । विराटनगर महानगरपालिका–६ का ३४ वर्षीय श्यामप्रसाद साह स्रोत बिनाको रकमसहित पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार साहलाई नेपाल–भारत सीमानजिक विराटनगर–१७ मटेरुवाबाट दिउँसो २ बजेतिर पक्राउ गरिएको हो । भारतबाट नेपालतर्फ ई–साइकलमा आउँदै गरेका साहलाई शंका लागेपछि अस्थायी प्रहरी पोस्ट मटेरुवाबाट खटिएको टोलीले रोकेर चेकजाँच गरेको थियो ।
त्यस क्रममा साहको साथबाट एक हजार दरका ४ सय ५० थान नेपाली नोट बरामद भएको डीएसपी मिश्रले बताए । उनका अनुसार साहले उनको साथबाट बरामद भएको ४ लाख ५० हजार रूपैयाँको स्रोत खुलाउन सकेनन् ।
प्रहरीले स्रोत नखुलेको रकम बरामद गर्दै ई–साइकलसहित नियन्त्रणमा लिएर साहलाई इलाका प्रहरी कार्यालय रानीमा राखेको छ । उनीमाथि इन्स्पेक्टर प्रवीण घिमिरे नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।
साहबाट बरामद भएको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । बरामद रकमको स्रोत, उक्त रकम नेपाल ल्याउनुको उद्देश्य तथा सम्भावित अवैध आर्थिक कारोबारसँग सम्बन्धित विषयमा अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए ।

























