नेपाललाई ग्रे लिस्टबाट निकाल्ने घोषणा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १६:४७

काठमाडौं । सरकारले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ग्रे लिस्टबाट यथाशीघ्र बाहिर निकाल्ने प्रतिबद्धता जनाएको छ ।

आगामी आर्थिक वर्ष २०८३–८४ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले आवश्यक कानुनी तथा संस्थागत सुधारमार्फत नेपाललाई ग्रे लिस्टबाट मुक्त गरिने बताएका हुन् । संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उनले अन्तर्राष्ट्रिय वित्तीय प्रणालीमा नेपालको विश्वसनीयता कायम राख्न सरकारले विशेष प्राथमिकताका साथ काम गर्ने उल्लेख गरे ।

Advertisement

उनका अनुसार सम्पत्ति शुद्धीकरण नियन्त्रण, वित्तीय पारदर्शिता र नियामकीय सुधारलाई आगामी वर्ष थप प्रभावकारी बनाइनेछ । यस्तै, सरकारले सेयर बजारका लगानीकर्तालाई लक्षित गर्दै पूँजीगत लाभकर सम्बन्धी व्यवस्था पनि स्पष्ट पारेको छ । अब सेयर कारोबारबाट प्राप्त नाफामा लाग्ने पुँजीगत लाभकरलाई अन्तिम करका रूपमा मान्यता दिइने भएको छ । अर्थात् लगानीकर्ताले पुँजीगत लाभकर तिरेपछि उक्त आम्दानीमा पुनः थप कर लाग्ने छैन ।

अर्थमन्त्री वाग्लेले बजेटमार्फत गरेको घोषणाअनुसार पुँजीगत लाभकर तिरेको रकम व्यक्तिको वार्षिक आयमा समेत गणना गरिने छैन । यसले सेयर बजारमा लगानीकर्तालाई कर प्रणालीबारे स्पष्टता मिल्ने अपेक्षा गरिएको छ ।

हाल एक वर्षभन्दा कम अवधिसम्म सेयर होल्ड गर्ने लगानीकर्ताले ७ दशमलव ५ प्रतिशत तथा एक वर्षभन्दा बढी अवधिसम्म सेयर राख्नेले ५ प्रतिशत पुँजीगत लाभकर तिर्दै आएका छन् । सरकारले यस व्यवस्थालाई यथावत् राख्दै त्यसलाई अन्तिम करको मान्यता दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.