
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा क्षेत्रमा २ खर्ब १८ अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर, यो रकम भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयले पाएको बजेटभन्दा कम रहेको छ ।
सरकारले उक्त मन्त्रालयका लागि २ खर्ब ६८ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । बजेटमार्फत सरकारले शिक्षा, पूर्वाधार र सार्वजनिक संस्थान सुधारलाई प्राथमिकतामा राखेको छ ।
त्यस्तै, सरकारले सामाजिक सुरक्षामा १ खर्ब २० अर्ब रुपैयाँ बराबर बजेट विनियोजन गरेको छ । नेपाललाई सडक बालबालिकामुक्त मुलुक घोषणा गरिने उनले बताए ।
सामाजिक विकृति अन्त्यका लागि तीन तहका सरकारबीच समन्वय गरिने भएको छ । बाल सुधारगृहको सुधार गरिने भएको छ ।
यसैक्रममा राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणलाई बिक्री गर्ने घोषणा पनि गरिएको छ । सरकारले संस्थान सुधार कार्यक्रमअन्तर्गत यी दुई कम्पनीको स्वामित्व सर्वसाधारणमा विस्तार गर्ने नीति लिएको हो । आगामी आर्थिक वर्षभित्र सेयर निष्कासन प्रक्रिया अघि बढाइने जनाइएको छ ।



















