श्रम–रोजगारमा ३ अर्ब ६३ करोड बजेट

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ १५, शुक्रबार १७:४७

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि श्रम तथा रोजगार क्षेत्रमा ३ अर्ब ६३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगार व्यवस्थापन, सिप विकास र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखिएको जानकारी दिएका छन् । सरकारले रिभर्स माइग्रेसनलाई प्रोत्साहन गर्दै विप्रेषण (रेमिट्यान्स)लाई उपभोगबाट उत्पादनशील क्षेत्रमा रूपान्तरण गर्ने नीति अघि सारेको छ ।

Advertisement

यसका लागि विप्रेषण लगानी मिलान कोष सञ्चालन गरिने बताइएको छ । जसले विदेशबाट आउने रकमलाई सीधा उत्पादन र रोजगारी सिर्जनासँग जोड्ने लक्ष्य राखेको छ ।

त्यस्तै, वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सिप र अनुभवलाई उपयोग गर्न ‘रिटर्नी माइग्रेन्ट कार्यक्रम’ कार्यान्वयन गरिने सरकारले जनाएको छ । यस कार्यक्रममार्फत स्वदेशमै उद्यमशीलता र रोजगारीका अवसर विस्तार गर्ने अपेक्षा गरिएको छ ।

युवालाई लक्षित गर्दै विभिन्न विषयगत छोटो अवधिका तालिम तथा कार्यस्थलमै आधारित प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने पनि बजेटमा उल्लेख छ । यसबाट श्रम बजारमा आवश्यक सीपयुक्त जनशक्ति तयार पार्ने सरकारको उद्देश्य रहेको छ ।

सरकारले वैदेशिक रोजगारीमा निर्भरता घटाउँदै स्वदेशमै रोजगारीका अवसर विस्तार गर्ने नीति लिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.