
काठमाडौं । हरेक मे ३१ विश्वभर विभिन्न चेतनामूलक कार्यक्रमका साथ ‘विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस’ मनाइँदै छ । सुर्तीजन्य पदार्थको प्रयोगबाट हुने स्वास्थ्य जोखिम र यसका उद्योगहरूले अपनाउने व्यापारिक रणनीतिबारे सर्वसाधारणलाई सचेत गराउन हरेक वर्ष यो दिवस मनाउने गरिन्छ ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार हाल विश्वभर करिब १ अर्ब ३० करोड मानिसले सुर्तीजन्य पदार्थ प्रयोग गर्छन् । सुर्तीजन्य पदार्थकै कारण हरेक वर्ष ८० लाखभन्दा बढी मानिसले ज्यान गुमाउने गरेका छन्, जसमध्ये १२ लाखको मृत्यु अरूले गरेको धूम्रपान (निष्क्रिय धूम्रपान) का कारण हुने गरेको छ ।
सन् १९८७ देखि मनाउन सुरु गरिएको यो दिवसले यस वर्ष विशेष गरी बालबालिका र युवा पुस्तालाई सुर्तीजन्य तथा निकोटिनयुक्त पदार्थको लतबाट जोगाउन जोड दिएको छ । डब्लुएचओका अनुसार विश्वभर १३ देखि १५ वर्ष उमेर समूहका करिब ४ करोड बालबालिकाले सुर्तीजन्य पदार्थ प्रयोग गरिरहेका छन् ।
पछिल्लो समय सुर्ती उद्योगहरूले युवा पुस्तालाई लक्षित गरी स्वादयुक्त ई–सिगरेट (विद्युतीय चुरोट) र निकोटिन पाउच जस्ता नयाँ उत्पादनहरू बजारमा ल्याइएकोमा डब्लुएचओले चिन्ता व्यक्त गरेको छ । डब्लुएचओका निर्देशक डा. एटिएन क्रुगले ठूला कम्पनीहरूले आफ्नो व्यापार बढाउन नयाँ पुस्तालाई निकोटिनको पासोमा पारिरहेको बताएका छन् ।
निकोटिनले विशेष गरी मस्तिष्क विकासको चरणमा रहेका बालबालिका र किशोर किशोरीलाई गम्भीर असर गर्ने भएकाले सरकारहरूलाई यसको नियन्त्रणका लागि कडा कदम चाल्न डब्लुएचओले आग्रह गरेको छ । सुर्तीजन्य पदार्थको प्रयोग घटाउँदै स्वस्थ जीवनयापन र भावी पुस्ताको सुरक्षाका लागि सामूहिक प्रयास आवश्यक रहेकोमा संगठनले जोड दिएको छ ।



















