अण्डाको समर्थन मूल्य बढ्यो, किसानलाई राहत

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार ०८:०४

चितवन । नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको समर्थन मूल्य पुनः वृद्धि गरेको छ। संघको शुक्रबार काठमाडौंमा सम्पन्न भौतिक तथा भर्चुअल बैठकले देशभर लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

संघका अध्यक्ष विनोद पोखरेलका अनुसार देशभरका अण्डा उत्पादक किसान तथा व्यवसायीको राय, परामर्श र सिफारिसलाई आधार मानी चितवनलाई प्रमुख आधार क्षेत्र बनाएर नयाँ दररेट तय गरिएको छ । नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ, ठूलो अण्डाको ५४५ रुपैयाँ, मिडियम अण्डाको ५१५ रुपैयाँ तथा सानो अण्डाको प्रतिपेटी ३ हजार रुपैयाँ कायम गरिएको छ ।

Advertisement

यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ प्रतिगोटा पर्ने देखिन्छ । संघले सबै व्यवसायी र सरोकारवालालाई तोकिएको समर्थन मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ ।

अध्यक्ष पोखरेलले गर्मी मौसमका कारण उत्पादनमा देखिएको उतारचढाव, दाना तथा औषधि लगायतका सामग्रीको बढ्दो लागतलाई ध्यानमा राखेर मूल्य समायोजन गरिएको बताए । उनका अनुसार पछिल्लो एक महिनामा अण्डाको मूल्य निरन्तर बढ्दै गएको छ ।

वैशाख २४ गते एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ४६५ रुपैयाँ रहेकामा हाल ५६० रुपैयाँ पुगेको छ । जुन करिब ९५ रुपैयाँ अर्थात् करिब २० प्रतिशतले वृद्धि हो ।

त्यसैगरी ठूलो अण्डा ४९० बाट ५४५ रुपैयाँ, मिडियम अण्डा ४०० बाट ५१५ रुपैयाँ र सानो अण्डाको प्रतिपेटी २ हजार ३०० बाट बढेर ३ हजार रुपैयाँ पुगेको छ । संघका अनुसार पछिल्ला केही सातायता उत्पादन घट्नु र बजार माग बढ्नु मूल्य वृद्धिका मुख्य कारण हुन् ।

अध्यक्ष पोखरेलले हाल अण्डाको उत्पादन लागत प्रतिगोटा १९ रुपैयाँ १२ पैसा पुगेको जानकारी दिँदै नयाँ समर्थन मूल्यपछि किसानले लागत नजिकको मूल्य पाउने बताए । उनका अनुसार लामो समयपछि उत्पादन लागतको हाराहारीमा मूल्य पुगेकाले किसानलाई केही राहत मिलेको छ ।

उनले पर्यटक आगमनमा वृद्धि, सीमा क्षेत्रमा अण्डा आयात तथा ओसारपसारमा कडाइ र आन्तरिक बजारमा माग बढ्नुले मूल्य बढाइएको बताए । साथै, उत्पादन लागत नियन्त्रण र बजार व्यवस्थापनमा सरकारी निकायको नीतिगत सहयोग आवश्यक रहेकोमा उनको जोड छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.