नक्कली कस्मेटिकविरुद्ध विराटनगरमा ‘ब्युटिसियन’ सचेतना

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २३, शनिबार २०:२२
नक्कली कस्मेटिकविरुद्ध विराटनगरमा ‘ब्युटिसियन’ सचेतना

विराटनगर । बजारमा बढ्दो नक्कली कस्मेटिक सामग्रीको बिगबिगीलाई निरुत्साहित गर्न र सौन्दर्यकर्मीहरूलाई गुणस्तरीय उत्पादनप्रति सचेत गराउने उद्देश्यले विराटनगरमा एक बृहत् सेमिनार सम्पन्न भएको छ ।

विराटनगरस्थित ओएसएस कस्मेटिकले ‘जेन्युन’ उत्पादन र यसको सही प्रयोगबारे विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरिएको हो । मोरङ र सुनसरीका करिब २५० जना ब्युटिसियनहरूको सहभागिता रहेको उक्त सेमिनारमा गुणस्तरीय कस्मेटिक सामग्रीको पहिचान र व्यावसायिक मर्यादाका विषयमा गम्भीर छलफल भएको थियो । पछिल्लो समय ‘ब्रान्डेड’ सामानको नाममा हुबहु देखिने ‘कपी’ वा नक्कली सामग्रीले उपभोक्ताको स्वास्थ्यमा जोखिम बढाएको भन्दै आयोजकले व्यवसायीहरूलाई सचेत गराएको छ ।

Advertisement

कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्दै ओएसएस कस्मेटिककी प्रबन्ध निर्देशक रिता ढकालले भनिन्, ‘महँगो मूल्य तिरेर पनि ग्राहकले नक्कली सामान पाइरहेको अवस्था छ । हामीले विराटनगरमा अन्तर्राष्ट्रिय स्तरका मौलिक (जेन्युन) सामान भित्र्याएका छौँ । ती सामानको सही पहिचान र प्रयोग गर्ने क्षमता ब्युटिसियनहरूमा हुनुपर्छ भन्ने हाम्रो चाहना हो ।’

सेमिनारमा मिससा कस्मेटिककी प्राविधिक एवं मेकअप आर्टिस्ट सलोनी गिरीले मुख्य प्रशिक्षकको रूपमा प्रशिक्षण दिएकी थिइन् । उनले विशेष गरी तराईको गर्मी र यहाँको मौसम अनुकूल ‘लास्टिङ’ हुने मेकअप गर्ने विधिबारे ‘डेमोन्स्ट्रेसन’ मार्फत सिकाएकी थिइन् । सो क्रममा फ्रान्स, अस्ट्रेलिया, टर्की र भारतका प्रतिष्ठित अन्तर्राष्ट्रिय ब्रान्डका मोइस्चराइजर, फाउन्डेसन, लिपिस्टिक र सेटिङ स्प्रेहरूको सही छनोट र प्रयोगबारे प्राविधिक ज्ञान प्रदान गरिएको थियो ।

0नक्कली कस्मेटिकको प्रयोगले छालामा दीर्घकालीन र गम्भीर समस्या निम्त्याउन सक्नेतर्फ सहभागीहरूले चासो व्यक्त गरेका थिए । सहभागी ब्युटिसियनहरूले यस्ता कार्यक्रमले आफ्नो पेसालाई थप मर्यादित र व्यावसायिक बनाउन ऊर्जा मिलेको बताए । आयोजकले आगामी दिनमा पनि यस्ता सचेतनामूलक र सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.