
उदयपुर । सरकार स्वामित्वको उदयपुर सिमेन्ट उद्योग आर्थिक संकटको यस्तो चरणमा पुगेको छ, जहाँ उत्पादन भइसकेको सिमेन्टसमेत बजार पठाउन नसकिएको अवस्था सिर्जना भएको छ ।
प्याकिङका लागि आवश्यक बोरा खरिद गर्न रकम अभाव भएपछि करिब साढे ६ करोड रुपैयाँ बराबरको सिमेन्ट उद्योग परिसरमै थन्किएको छ । सिमोन्ट गोदाममै थन्किएको हो ।
देशकै पुरानो तथा प्रतिष्ठित मानिएको गैंडा छाप सिमेन्ट उद्योग गत माघयता पूर्ण रूपमा बन्द छ । उद्योगभित्र मौज्दात रहेको क्लिन्कर पिसेर सिमेन्ट उत्पादन गरिए पनि प्याकिङ नहुँदा गोदाम र भकारीमै थुप्रिन थालेको हो ।
उद्योगको सिमेन्ट उत्पादन विभागका अनुसार हाल करिब ८२ हजार बोरा बराबरको सिमेन्ट मौज्दात रहेको छ । त्यसमध्ये झण्डै ५० हजार बोरा तयारी सिमेन्ट भकारीमै राखिएको छ । थप २७ हजार बोरा उत्पादन गर्न पुग्ने क्लिन्कर मौज्दात छ ।
समयमै व्यवस्थापन हुन नसक्दा प्याकिङ हाउसमा छरिएर करिब ५ हजार बोरा बराबरको सिमेन्ट नष्टसमेत भइसकेको उद्योगले जनाएको छ । सिमेन्ट उत्पादन विभाग प्रमुख नगेन्द्रप्रसाद देवले पटकपटक बोरा व्यवस्थापन गर्न आग्रह गरे पनि सुनुवाइ नभएको गुनासो गरे ।
उनका अनुसार उत्पादन भइसकेको सिमेन्ट गोदाममै बिग्रिने अवस्था आउनु उद्योगको व्यवस्थापकीय कमजोरीको परिणाम हो । उद्योग प्रशासन प्रमुख गम्भीरजंग खत्रीले प्रतिबोरा ७ सय ७५ रुपैयाँका दरले हिसाब गर्दा थन्किएको सिमेन्टको मूल्य करिब ६ करोड ३५ लाख रुपैयाँ पुग्ने बताए । उद्योगसँग प्याकिङ बोरा किन्ने रकमसमेत नभएकाले बिक्री प्रक्रिया रोकिएको उनको भनाइ छ ।
उद्योग स्रोतका अनुसार कच्चा पदार्थ अभाव, मेसिन मर्मत, विद्युत् महसुल भुक्तानी तथा कर्मचारी व्यवस्थापन सबै क्षेत्रमा समस्या चुलिएको छ । उद्योगमा कार्यरत कर्मचारी र मजदुरले १५ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । अहिले उद्योगमा १ सय ७७ कर्मचारी तथा मजदुर र ५९ जना सुरक्षा गार्ड कार्यरत छन् ।
तलब नपाएपछि कर्मचारीहरू आन्दोलनमा उत्रिएका छन् । उद्योग पुनः सञ्चालनका सरकारी आश्वासन व्यवहारमा कार्यान्वयन नभएको आरोपसमेत लागिरहेको छ । करोडौंको सिमेन्ट गोदाममै थन्किएको घटनाले राज्य सञ्चालित उद्योगहरूको कमजोर व्यवस्थापन र सरकारी बेवास्ता प्रष्ट हुने कर्मचारीहरु बताउँछन् ।



















