विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २५, सोमबार १६:२९

विराटनगर महानगरपालिका अहिले फोहोरको समस्याले गम्भीर रूपमा ग्रसित बन्दै गएको छ । सडक किनार, खाली जमिन, नाली, चोक, गल्ली र बजार क्षेत्रसम्म जताततै फोहोर थुप्रिन थालेपछि सहरको सौन्दर्य मात्र नभएर जनस्वास्थ्यसमेत जोखिममा पर्न थालेको छ । कोशी प्रदेशको राजधानी एवं प्रदेशकै प्रमुख सहरको रूपमा चिनिने विराटनगर आज दुर्गन्ध, अव्यवस्था र लापरबाहीको प्रतीक बन्दै जानु दुःखद् हो । अझ चिन्ताको विषय के छ भने समस्या दिनप्रतिदिन बढिरहँदा महानगरपालिका भने जिम्मेवारीबाट पन्छिने र दोष नागरिकमाथि थोपर्ने शैलीमा प्रस्तुत भइरहेको छ ।

फोहोर व्यवस्थापन कुनै सामान्य विषय होइन । यो सहरको स्वास्थ्य, वातावरण, सौन्दर्य, नागरिकको जीवनस्तर र विकाससँग प्रत्यक्ष जोडिएको विषय हो । विराटनगरमा उद्योग, कलकारखाना, अस्पताल, होटल तथा हजारौं घरधुरीबाट दैनिक ठूलो परिमाणमा फोहोर उत्पादन हुन्छ । यति ठूलो सहरमा व्यवस्थित फोहोर व्यवस्थापन प्रणाली नहुनु महानगरको कमजोरी हो ।

Advertisement

फोहोर संकलनको जिम्मा विभिन्न संस्थालाई दिइए पनि त्यसको प्रभावकारी अनुगमन र नियन्त्रण महानगरले गर्न सकेको देखिँदैन । अर्थात्, गर्न चाहेको छैन । परिणामस्वरूप सडक किनारमा थुप्रिने फोहोर, नउठाइएका डंगुर, नालीमा अड्किएका प्लाष्टिक र दुर्गन्धित वातावरण अहिले विराटनगरको पहिचानजस्तै बन्न थालेको छ ।

महानगरका अधिकारीहरू नागरिक पनि जिम्मेवार हुनुपर्ने तर्क गर्छन् । निस्सन्देह नागरिक सचेतना आवश्यक छ । जथाभावी फोहोर फाल्ने प्रवृत्ति गलत हो । तर, जनताले शुल्क तिरेर पनि नियमित सेवा नपाउने अवस्था छ भने त्यसको मुख्य जिम्मेवारी स्थानीय सरकारबाट हट्न सक्दैन । खाली जमिनमा थुप्रिएको फोहोर उठाउन नमानेको, अतिरिक्त पैसा मागिएको तथा नियमित संकलन नगरेको गुनासो सर्वसाधारणबाट बारम्बार आइरहेको छ । यस्तो अवस्थामा महानगरले आफ्नो कमजोरी स्वीकारेर सुधारतर्फ लाग्नुपर्ने हो । उल्टै नागरिकलाई मात्र दोष दिएर उम्किन खोज्नु जिम्मेवार व्यवहार मान्न सकिँदैन ।

अर्को गम्भीर पक्ष भनेको फोहोर र डुबानबीचको सम्बन्ध हो । विराटनगर वर्षायाममा पटकपटक डुबानको समस्या भोग्ने सहर हो । सडक किनार र नालीमा जथाभावी फालिएका प्लाष्टिक तथा अन्य फोहोरले पानी निकास अवरुद्ध हुँदा सामान्य वर्षामै सडक एवं बजार जलमग्न हुने अवस्था सिर्जना हुन्छ । नाली सफाइमा ध्यान नदिने, फोहोर समयमै नउठाउने र दीर्घकालीन योजना नबनाउने प्रवृत्तिका कारण डुबानको जोखिम अझ बढिरहेको छ ।

पानी निकास अवरुद्ध हुँदा सडक बिग्रिने, व्यापार प्रभावित हुने, घरभित्र पानी पस्ने र रोग फैलिने समस्या थप गम्भीर बन्दै गएको छ । यस हिसाबले फोहोर व्यवस्थापन सरसफाइ मात्र नभएर विपद् व्यवस्थापनसँग पनि प्रत्यक्ष जोडिएको विषय हो ।

विराटनगर महानगरपालिकाले फोहोर व्यवस्थापनलाई प्राथमिकतामा राखेको दाबी गरिरहे पनि व्यवहारमा त्यस्तो देखिँदैन । सहर कुरुप र दुर्गन्धित बन्दै जाँदा जनप्रतिनिधिहरू भने राजनीतिक गतिविधि, व्यक्तिगत स्वार्थ र प्रचारमुखी कार्यक्रममा बढी केन्द्रित देखिन्छन् । जनताले अपेक्षा गरेको जिम्मेवारीपूर्ण नेतृत्व अहिले देखिन सकेको छैन । मेयर, उपमेयर र सम्बन्धित शाखाका कर्मचारीहरू आलोचित हुनुको मुख्य कारण पनि यही हो । नागरिकले महसुस गर्ने गरी सुधार देखिन नसक्दा जनप्रतिनिधिप्रतिको विश्वास कमजोर बन्दै गएको छ ।

फोहोर व्यवस्थापनको दीर्घकालीन समाधानका लागि महानगरले तत्काल प्रभावकारी योजना लागू गर्न आवश्यक छ । घरघरबाट निस्किने फोहोरलाई कुहिने र नकुहिने गरी वर्गीकरण गर्ने व्यवस्था कडाइका साथ लागू गर्नुपर्छ । नाली र सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही गर्ने कानुनी व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ । नियमित अनुगमन, समयमै फोहोर संकलन, पुनः प्रयोगयोग्य वस्तुको व्यवस्थापन र जनचेतनामूलक अभियानलाई सँगसँगै अघि बढाउनुपर्छ । भाषण मात्रै गर्ने र जिम्मेवारी पन्छाउने शैलीले समस्या समाधान हुँदैन ।

सफा र व्यवस्थित विराटनगर बनाउने जिम्मेवारी महानगर र नागरिक दुवैको हो । तर, नेतृत्वदायी भूमिका भने स्थानीय सरकारकै हुन्छ । महानगरले आफ्नो जिम्मेवारीबाट भाग्ने होइन, परिणाम देखिने गरी काम गर्नुपर्छ । अन्यथा फोहोरले कुरुप बनेको विराटनगर आगामी दिनमा अझ ठूलो स्वास्थ्य संकट, वातावरणीय समस्या र डुबानको जोखिमतर्फ धकेलिने निश्चित छ । त्यही भएर सबैको एउटै माग हुनुपर्छ, ‘विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ ।’

तपाइको प्रतिक्रिया
पूर्वगृहमन्त्री सुधन गुरुङलाई ‘क्लिन चिट’
वीरगन्ज महानगरपालिकाका नगर प्रमुख निलम्बनमा
नेपाललाई एसियन गेम्स छनोटको उपाधि
नम्बर प्लेट फेरेर चलाउँदै गर्दा चोरीको मोटरसाइकल बरामद, विराटनगरबाट भारतीय युवक पक्राउ
विराटनगरको फोहोर व्यवस्थापनमा ध्यान देऊ
कोशी प्रदेशमा रास्वपा : उदयपुर बाहेकका जिल्लामा नयाँ नेतृत्व
एन्फा पदाधिकारीलाई विश्वकपमा जान राखेपले दिएन अनुमति
प्रतिपक्षीकाे अवराेधपछि सूचना टासेर संसद बैठक स्थगित
जीवन विकास सामुदायिक अस्पताल दोस्रो वर्षमा, ‘वर्ल्ड क्लास’ स्वास्थ्य संस्था बनाउने लक्ष्य
करका दर हेरफेर : अर्थमन्त्रीमाथि संसदीय छानबिनकाे माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.