
काठमाडौं । सिंगापुरमा सम्पन्न एसियन गेम्स पुरुष क्रिकेट छनोटमा नेपाल अपराजित रहँदै च्याम्पियन बनेको छ । सोमबार भएको फाइनलमा नेपालले हङकङलाई डीएलएस पद्धतिअनुसार १९ रनले पराजित गर्दै उपाधि जितेको हो ।
हङकङले दिएको १८९ रनको बलियो लक्ष्य पछ्याएको नेपालले ११.३ ओभरमा २ विकेट गुमाएर ११४ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । त्यसपछि पुनः खेल सम्भव नभएपछि डीएलएस पद्धतिअनुसार नेपाल विजयी घोषित भयो । उक्त समयमा नेपालको पार स्कोर ९५ रन रहेको थियो ।
नेपालका लागि कुशल भुर्तेलले आक्रामक ब्याटिङ गर्दै ४० बलमा ६५ रन बनाए । उनले ६ चौका र आकर्षक प्रहारसहित टोलीलाई बलियो अवस्थामा पुर्याएका थिए । कप्तान रोहित पौडेल ३५ रनमा तथा दीपेन्द्रसिंह ऐरी ९ रनमा अविजित रहे । हङकङका एहसान खान र आयुष शुक्लाले समान १–१ विकेट लिए ।
नेपाल ऐतिहासिक रन चेज गर्नबाट भने थोरैले चुकेको छ । १८९ रनको लक्ष्य पूरा गर्न सफल भएको भए यो नेपालको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट इतिहासकै सबैभन्दा ठूलो सफल रन चेज हुने थियो । यसअघि नेपालले सन् २०२५ मा कुवेतविरुद्ध १८६ रनको लक्ष्य पूरा गरेको थियो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले २० ओभरमा ७ विकेट गुमाउँदै १८८ रन बनाएको थियो । हङकङका लागि अंशुमन राथले ४५ बलमा ६ चौका र ६ छक्कासहित सर्वाधिक ८० रन बनाए । शाहिद वासिफले २८ बलमा ५५ रनको योगदान दिए भने शिव माथुरले २६ रन जोडे ।
नेपालका बलरमध्ये शेर मल्ल सर्वाधिक सफल रहे । उनले ४ ओभरमा ३२ रन खर्चेर ४ विकेट लिए । करण केसीले २ तथा सन्दीप लामिछानेले १ विकेट लिए । एक समय हङकङ १८ ओभरमा ५ विकेट गुमाएर १७९ रनको बलियो अवस्थामा पुगेको भए पनि अन्तिम ओभरहरूमा अपेक्षित फिनिसिङ गर्न सकेन ।
फाइनलअघि दुवै टोली अपराजित रहँदै उपाधि भिडन्तसम्म पुगेका थिए । नेपालले भने निर्णायक खेलमा उत्कृष्ट प्रदर्शन गर्दै उपाधिसहित छनोट प्रतियोगिता समाप्त गरेको हो ।

























