महानगरद्वारा वातावरण सेवा केन्द्रको ल्याबलाई सामग्री सहयोग 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ जेष्ठ २६, मंगलबार १३:३०
 महानगरद्वारा वातावरण सेवा केन्द्रको ल्याबलाई सामग्री सहयोग 

विराटनगर । मोरङ उद्योग व्यापार संघको हाताभित्र सञ्चालित नेपाल वातावरण सेवा केन्द्रको प्रयोगशालाका लागि विराटनगर महानगरपालिकाले करिब एक लाख रुपैयाँ बराबरको प्राविधिक सामग्री हस्तान्तरण गरेको छ ।

महानगरका मेयर नागेश कोइरालाले प्रयोगशाला प्रमुख निशा वाल्मीकिलाई विभिन्न किसिमका केमिकल, प्रिन्टर र अनलाइन यूपीएस लगायतका सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठी र वरिष्ठ उपाध्यक्ष अनिल साहलगायतको उपस्थिति रहेको थियो ।

Advertisement

सामग्री हस्तान्तरण गर्दै मेयर कोइरालाले यस प्रयोगशालाको स्तरोन्नतिका लागि महानगरपालिकाले थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले विराटनगरमै यस्तो गुणस्तरीय परीक्षण ल्याब हुनु यहाँका उद्योगी र सर्वसाधारणका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरे ।

सन् २००२ मा फिनल्यान्ड सरकारको ‘सिमएन’ आयोजनाअन्तर्गत औद्योगिक, घरेलु तथा कृषि क्षेत्रलाई लक्षित गरी यो प्रयोगशाला स्थापना गरिएको थियो । करिब तीन करोड रुपैयाँको लागतमा सुरु भएको यस ल्याबले पानी, माटो, हावा, ध्वनि र खाद्यान्न प्रदूषणको मापन गर्दै आएको छ ।

प्रयोगशालाका प्रशासन प्रमुख सुरज सापकोटाका अनुसार हाल यहाँ वार्षिक रूपमा ५ सयभन्दा बढी विभिन्न किसिमका नमुनाहरूको परीक्षण हुने गरेको छ । सिमएन आयोजनाको अवधि सकिएपछि हाल मोरङ उद्योग व्यापार संघ, झापा, मोरङ र सुनसरीका जिल्ला समन्वय समिति तथा विराटनगर महानगरपालिकाका प्रतिनिधिहरू रहेको सञ्चालक समितिले यसको व्यवस्थापन गरिरहेको छ ।

प्रयोगशाला प्रमुख निशा वाल्मीकिका अनुसार नेपाल सरकारको खानेपानी परीक्षण गाइडलाइन अन्तर्गत यहाँ २६ प्रकारका परीक्षणहरू हुने गरेका छन् । जसमा खेर जाने पानीको जेनेरिक स्ट्यान्डर्ड (१, २ र ३) परीक्षण, वायु, ध्वनि र माटोको गुणस्तर परीक्षण र मल खाद र खाद्यान्न (चाउचाउ, बिस्कुट आदि) को गुणस्तर जाँच हुने गरेको छ ।

विशेषगरी ल्याबमा रहेको करिब एक करोड मूल्य पर्ने ‘एएएस’ मेसिनले माटो, पानी र खाद्यान्नमा रहेका गह्रौं धातुहरू जस्तै आइरन, लिड, जिंक आदिको सूक्ष्म परीक्षण गर्ने सापकोटाले जानकारी दिए । सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरू र निजी क्षेत्रले आफ्नो आवश्यकता अनुसार यहाँ नियमित परीक्षण गराउँदै आएका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.