
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति, कार्यक्रम तथा बजेटलाई समावेशी र सामाजिक, आर्थिक रूपान्तरणमुखी बनाउन सरोकारवालाहरूसँग सुझाव संकलन गरेको छ ।
उपप्रमुख शिल्पा निराला कार्कीको अध्यक्षतामा आयोजित छलफल कार्यक्रममा विभिन्न गैरसरकारी संस्था, नागरिक समाज र अधिकारकर्मीहरूले आ–आफ्नो क्षेत्रका समस्या र आवश्यकताका बारेमा महानगरको ध्यानाकर्षण गराएका छन् ।
कार्यक्रममा सहभागीहरूले ज्येष्ठ नागरिकका लागि दिवा सेवा केन्द्र, मुस्लिम तथा मधेसी दलित महिलाका लागि सीपमूलक र सशक्तीकरणका कार्यक्रम, तथा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकहरूको सामाजिक सुरक्षामा बजेट विनियोजन गर्न सुझाव दिएका छन् । यस्तै, अपाङ्गता भएका व्यक्तिहरूका लागि अपाङ्गतामैत्री पूर्वाधार निर्माण, श्रवण दृष्टिविहीन र बहिरा समुदायका लागि विशेष प्राथमिकता र महिला नेतृत्व विकासका कार्यक्रमहरू आगामी नीतिमा समेट्न जोड दिइएको छ ।
नेपाल ग्रामीण विकास केन्द्रका अध्यक्ष मणिकुमार अर्याल, गैसस महासंघ मोरङ अध्यक्ष विष्णु शर्मा लगायत विभिन्न संस्थाका प्रतिनिधिहरूले महानगरसँगको सहकार्य र बजेट व्यवस्थापनका विषयमा धारणा राखेका थिए ।
छलफलका क्रममा प्रमुख प्रशासकीय अधिकृत विजयकुमार शर्माले प्राप्त सुझावहरूलाई नीति तथा कार्यक्रममा समावेश गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रमको समापन गर्दै उपप्रमुख कार्कीले प्राप्त सुझावहरूलाई प्राथमिकताका साथ अध्ययन गरी कार्यान्वयनमा लैजाने र सबै वर्ग एवं समुदायलाई समेट्ने गरी बजेट निर्माण गरिने विश्वास दिलाइन् ।
कार्यक्रममा एक दर्जनभन्दा बढी संघसंस्थाका प्रतिनिधिहरूले समावेशी र उत्तरदायी स्थानीय सरकारका लागि आफ्ना राय प्रस्तुत गरेका थिए ।

























