
विराटनगर । विराटनगर विमानस्थलभित्र सञ्चालित होटल तथा क्याफेहरूले उपभोक्तासँग अंकित मूल्यभन्दा अत्यधिक बढी रकम असुलेको तथ्य सरकारी अनुगमनबाट खुलेको छ ।
यात्रु तथा सर्वसाधारणबाट मनपरी मूल्य असुल्ने विमानस्थलभित्रका चारवटा होटल तथा क्याफेलाई १२ लाख रूपैयाँ जरिबाना गरिएको छ । यात्रु तथा सर्वसाधारणबाट विमानस्थलभित्रका पसलहरूले मनपरी मूल्य लिने गरेको गुनासो लगातार आएपछि जिल्ला प्रशासन कार्यालय मोरङको नेतृत्वमा मंगलबार साँझ संयुक्त अनुगमन टोलीले छड्के निरीक्षण गरेको थियो ।
अनुगमनका क्रममा विमानस्थल परिसरभित्र सञ्चालित चारवटा व्यवसायले वस्तुमा अंकित खुद्रा मूल्य (एमआरपी) भन्दा धेरै बढी रकम लिएको भेटिएको हो । अनुगमन टोलीले तत्काल कानुनी कारबाही गर्दै प्रत्येक व्यवसायलाई तीन–तीन लाख रुपैयाँका दरले जरिबाना गरेको छ ।
अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले १०० रुपैयाँ मूल्य अंकित डेरी मिल्क चकलेट २०० रुपैयाँमा बिक्री गरेको फेला परेको थियो । त्यस्तै, विमानस्थलको क्यान्टिनमा सञ्चालित ग्यालेक्सी क्याफे एण्ड होटेल प्रालिले ५० रुपैयाँ मूल्य रहेको कोकाकोलाको बोतल १६० रुपैयाँमा बिक्री गरी बिल काटेको भेटिएको छ ।
यस्तै, विमानस्थल परिसरमै सञ्चालित गरिमा क्याफेले ५० रुपैयाँ पर्ने कोकाकोलालाई ८० रुपैयाँमा बिक्री गरेको पाइएको छ । अनुकुल होटेल एन्ड भान्सा घरले ८ रुपैयाँ मूल्य अंकित चकलेटलाई १७ रुपैयाँ ६९ पैसामा बिक्री गरेको तथ्य अनुगमन टोलीले फेला पारेको थियो ।
उपभोक्ताबाट चर्को मूल्य असुली गरिएको पुष्टि भएपछि चारवटै व्यवसायमाथि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) अन्तर्गत कसुर कायम गरिएको हो । सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम प्रत्येक व्यवसायलाई तीन लाख रुपैयाँका दरले जरिबाना गरिएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोजराज कोइरालाले जानकारी दिए । उनका अनुसार कारबाही गरेर चारवटै होटल तथा क्याफेहरूबाट १२ लाख रुपैयाँ जरिबाना असुल गरिएको छ ।
विमानस्थलजस्तो संवेदनशील र सार्वजनिक सेवासँग सम्बन्धित स्थानमा यात्रुको बाध्यता तथा विकल्पको अभावको फाइदा उठाएर वस्तु तथा खाद्य सामग्रीमा अस्वाभाविक मूल्य लिइएको गुनासो लामो समयदेखि आइरहेको सहायक प्रजिअ कोइरालाले बताए । सोही आधारमा गरिएको आकस्मिक अनुगमनमा व्यवसायीहरूले उपभोक्ता संरक्षणसम्बन्धी कानुनी व्यवस्थाको उल्लंघन गरेको पुष्टि भएको हो ।
अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख हितेश बस्नेत, जिल्ला प्रशासन कार्यालय मोरङका प्रशासकीय अधिकृत सन्तोष घिमिरे, वडा प्रहरी कार्यालय विराटनगरका इन्स्पेक्टर बेनुकुमार कार्की, उपभोक्ता हित संरक्षण मञ्च नेपाल कोशी प्रदेशका कोषाध्यक्ष विनोद सुवेदी लगायतको सहभागिता रहेको थियो । अनुगमन कार्य साँझ करिब ६ः२० बजे सम्पन्न भएको थियो ।
मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले विमानस्थल मात्र नभएर उपभोक्तालाई ठगी गर्ने, अंकित मूल्यभन्दा बढी रकम असुल गर्ने तथा कानुनविपरीत व्यापार गर्ने जोसुकै व्यवसायीमाथि निरन्तर निगरानी र कडा कारबाही जारी रहने स्पष्ट पारेका छन् । उनका अनुसार उपभोक्ताले वस्तु खरिद गर्दा अंकित मूल्य, बिल तथा गुणस्तरबारे सचेत हुनुपर्छ ।
यदि कुनै व्यवसायले तोकिएको मूल्यभन्दा बढी रकम असुलेको पाइएमा सम्बन्धित निकायमा उजुरी दिन पनि सर्वसाधारणलाई कटेलको आग्रह छ । विराटनगर विमानस्थलभित्र भएको पछिल्लो कारबाहीले उपभोक्ता अधिकार संरक्षणको क्षेत्रमा महत्वपूर्ण सन्देश प्रवाह गर्दै सार्वजनिक स्थलमा हुने खुला मूल्य ठगीविरुद्ध सरकारी संयन्त्र सक्रिय रहेको स्पष्ट पारेको छ ।

























