
विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेस हाल अत्यन्त कमजोर अवस्थामा पुगेको बताउँदै पार्टी एकता गर्नुपर्ने बताएका छन् ।
पार्टी दुई टुक्रा भएको भन्दै उनले एक मात्र विकल्प एकता रहेको बताए । विराटनगरमा आयोजित इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले कांग्रेसको वर्तमान अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गरे ।
कांग्रेस अत्यन्तै कमजोर अवस्थाबाट गुज्रिरहेको बताउँदै डा. कोइरालाले वर्तमान नेतृत्वको कार्यशैलीमाथि प्रश्न उठाए । उनले प्रश्न गरे, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ?’ उनले पार्टी सुधारका लागि नेतृत्वले रूढिवादी सोच त्यागेर पहिले आफूमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिए ।
आफू कोइराला निवास पुग्दाको भावुक क्षण स्मरण गर्दै उनले भने, ‘आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो। कांग्रेस आज टुक्रिएको छ, यसलाई टुक्र्याइएको छ। अदालतले बनाएको विभाजनको रेखा गलत थियो।’
उनले पार्टीभित्रको आन्तरिक कलहका कारण गाउँ गाउँमा कांग्रेसका कार्यकर्ता भए पनि निर्वाचनमा मत खस्न नसकेको यथार्थ औँल्याए । उनले थपे, ‘अब सबैलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्ने बेला आएको छ।’
डा. कोइरालाले पार्टीलाई पुनः एकताबद्ध गर्ने अभियानको नेतृत्व डा. शेखर कोइरालाले गरिरहेको उल्लेख गर्दै त्यसमा आफ्नो पूर्ण साथ र समर्थन रहने संकेत गरेका छन् । उनले पार्टीलाई बलियो बनाउन एकता नै अहिलेको मुख्य लक्ष्य हुनुपर्ने धारणा राखे ।

























