
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले पार्टी विवाद समाधानका लागि सभापति गगन थापासँग गरेकाे प्रस्ताव अघि नबढेपनि कुनै पनि हालतमा नेपाली कांग्रेसलाई फुट्न नदिने बताएका छन् । विराटनगरमा आयोजित पार्टीको संस्थापन इतर पक्षको भेलालाई सम्बोधन गर्दै उनले एकढिक्का बनाएर अगाडि बढाउने बताएका हुन् ।
भेलालाई सम्बोधन गर्दै डाक्टर कोइरालाले पछिल्लो समय पार्टीभित्र निरंकुशताको संकेत देखिएको बताए । ‘नेपाली कांग्रेसको जन्म नै लोकतन्त्रको स्थापना र निरंकुशताको अन्त्यका लागि भएको हो,’ कोइरालाले ,‘तर अहिले अद्यावधिक गर्न नमानेको बहानामा देशैभरिका वडा सभापतिहरूलाई मौखिक रूपमा हटाउने काम भइरहेको छ । यो निरंकुशताको सुरुवात हो, जुन कांग्रेसको आदर्शविपरीत छ ।’
डाक्टर कोइरालाले पार्टीभित्रको आन्तरिक विवाद समाधानका लागि ५ बुँदे प्रस्ताव पेश गरेको बताएका छन् । सभापति गगन थापासँग छलफल गरी ५ बुँदे प्रस्ताव अघि सारेको बताएका हुन् । उनका उक्त प्रस्तावमा नेतृत्व सकारात्मक देखिए पनि कार्यान्वयनमा ढिलासुस्ती भएको छ । भेलालाई उनले प्रस्ताव पढेर सुनाए ।
१, १५औं महाधिवेशनका लागि क्रियाशील सदस्यता अद्यावधिक अनिवार्य नगर्ने ।
२, १४औं महाधिवेशनपछि नवीकरण र वितरण गरिएका क्रियाशील सदस्यकै आधारमा १५औं महाधिवेशन गर्ने ।
३, १४औं महाधिवेशनको केन्द्रीय समिति, कार्यसमिति र विशेष महाधिवेशनको कार्यसमितिलाई समायोजन गरी एउटै बनाउने ।
४, कार्य सम्पादन समिति गठन गर्दा सभापतिको बहुमत हुने गरी व्यवस्था गर्ने ।
५, निर्वाचन, क्रियाशील सदस्यता, छानबिन, अनुशासन र विधान लगायतका महत्त्वपूर्ण समितिहरू आपसी सहमति र समझदारीका आधारमा मात्र गठन गर्ने ।
प्रस्ताव पेश गरेको डेढ महिना वितेपनि प्रगति भने नभएको उनको भनाई छ । ‘यी प्रस्तावमा सहमति भएको डेढ महिना भइसक्यो, तर आखिर केले रोकिराखेको छ ? उनले भने,‘ किन बारम्बार कुरा फेरिरहनु भएको छ ?’
कोइरालाले कांग्रेस कमजोर हुँदा देशको लोकतन्त्र, सार्वभौमिकता र अखण्डता समेत कमजोर हुने बताए । ‘कांग्रेस अहिलेकै परिस्थितिमा अगाडि बढ्न सक्दैन । हामीले सबै शक्तिलाई एकताबद्ध गर्नुपर्छ । सहमति, सहकार्य र एकता नै आजको आवश्यकता हो ।’ उनले भने,‘ कांग्रेस कमजोर हुँदा राष्ट्रीयता कमजोर हुन्छ ।’



















