
रंगेली । सीमा सुरक्षासँगै सामाजिक उत्तरदायित्व बहनमा सक्रिय सशस्त्र प्रहरी बल नेपालले मोरङको रंगेलीमा एक विशेष कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी बल नेपाल, सीमा सुरक्षा गुल्म सोराभागले रंगेली नगरपालिका–६ स्थित पब्लिक माध्यमिक विद्यालयमा खेलकुद सामग्री वितरण गर्नुका साथै विद्यार्थीहरूसँग मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गरेको हो ।
सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत आयोजित उक्त कार्यक्रममा सशस्त्र प्रहरीले विद्यालयलाई विभिन्न खेलकुदका सामग्रीहरू हस्तान्तरण गरेको थियो । सामग्री हस्तान्तरण पश्चात् सशस्त्र प्रहरी र विद्यार्थीहरूबीच मैत्रीपूर्ण भलिबल खेल समेत खेलिएको थियो, जसमा सशस्त्र प्रहरीको टोली विजयी भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) गोविन्द पोखरेलले खेलकुदको महत्त्वमाथि प्रकाश पारेका थिए । उनले भने, ‘खेलकुदले युवा पुस्तालाई कुलत, विकृति र नकारात्मक सोचबाट टाढा राख्दै अनुशासित, जिम्मेवार र राष्ट्रप्रति समर्पित नागरिक बनाउन महत्त्वपूर्ण भूमिका खेल्छ ।’
सशस्त्र प्रहरीले सीमा सुरक्षाको आफ्नो मुख्य जिम्मेवारीसँगै समाजको समग्र विकास र सामाजिक हितका कार्यमा पनि निरन्तर योगदान दिँदै आएको उनले उल्लेख गरे ।
यस्ता कार्यक्रमले सुरक्षा निकाय र विद्यालयबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गर्दै डीएसपी पोखरेलले आगामी दिनमा पनि शिक्षा, स्वास्थ्य र सामाजिक विकासका क्षेत्रमा सहकार्य जारी राख्ने प्रतिबद्धता जनाए ।
विद्यालयका प्रधानाध्यापक अरविन्दकुमार साहले सशस्त्र प्रहरीको यस कार्यको प्रशंसा गर्दै यस्ता गतिविधिले विद्यार्थीहरूको व्यक्तित्व विकास, अनुशासन र सामाजिक चेतना अभिवृद्धिमा ठुलो टेवा पुग्ने बताए । उनले सुरक्षा निकायको विद्यालयप्रतिको यो सद्भावले विद्यार्थीहरूमा राष्ट्र प्रेम र सकारात्मक सोचको विकास गर्ने विश्वास व्यक्त गरे ।
कार्यक्रममा सशस्त्र प्रहरीका अधिकृतहरू, शिक्षक–शिक्षिका, विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उत्साहजनक सहभागिता रहेको थियो । सशस्त्र प्रहरीको यो सक्रियतालाई स्थानीय समुदायले सकारात्मक रूपमा लिएका छन् ।

























