
एजेन्सी । मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित युद्ध जोखिमबीच अमेरिका र इरानबीच स्विट्जरल्यान्डको लुसर्नस्थित बर्गेनस्टक रिसोर्टमा उच्चस्तरीय वार्ता जारी रहेको छ ।
दुवै पक्षबीच दीर्घकालीन विवाद समाधान गर्ने र नयाँ कूटनीतिक सम्बन्धको आधार तयार गर्ने उद्देश्यले छलफल भइरहेको छ । वार्ता रातभर चल्ने अनुमान गरिएको छ ।
वार्तामा अमेरिकाका उपराष्ट्रपति जेडी भान्स, राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी जारेड कुशनर र विशेष दूत स्टिभ विटकोफ सहभागी छन् । इरानतर्फबाट विदेशमन्त्री अब्बास अराघची र सभामुख गालिबाफको नेतृत्वमा प्रतिनिधिमण्डल उपस्थित छ ।
कतार र पाकिस्तानको मध्यस्थतामा सुरु भएको वार्ता हालै भएको अस्थायी सहमतिलाई अन्तिम सम्झौतामा रूपान्तरण गर्ने प्रयासका रूपमा अघि बढाइएको हो । प्रारम्भिक समझदारीअनुसार ६० दिनभित्र ठोस सम्झौता गर्ने, क्षेत्रीय तनाव घटाउने र महत्वपूर्ण सामुद्रिक तथा ऊर्जा मार्गहरू पुनः सञ्चालन गर्ने लक्ष्य राखिएको छ ।
वार्तामा मुख्य रूपमा इरानको आणविक कार्यक्रम, दक्षिणी लेबनानमा जारी द्वन्द्व तथा होर्मुज जलसन्धिको अवस्थाका बारेमा छलफल भइरहेको छ । होर्मुज बन्द गर्ने इरानको चेतावनीपछि अन्तर्राष्ट्रिय ऊर्जा आपूर्तिमा असर पर्ने आशंका बढेको छ । यद्यपि, समुद्री आवागमन पूर्ण रूपमा रोकिएको छैन ।
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई क्षेत्रीय सशस्त्र समूहहरू नियन्त्रण गर्न चेतावनी दिएका छन् । जवाफमा इरानी अधिकारी गालिबाफले धम्कीको भाषाले समाधान नआउने भन्दै आफ्नो देश दबाबमा नझुक्ने बताएका छन् ।
क्षेत्रीय तनावका बीच लेबनानमा हिजबुल्लाह र इजरायली सेनाबीच तनाव बढ्दो छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा सुनिश्चित नभएसम्म दक्षिणी लेबनानमा आफ्ना सेना रहने स्पष्ट गरेका छन् । इजरायली हवाई आक्रमणका कारण सर्वसाधारणको मृत्यु भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कतारका प्रधानमन्त्रीले वार्ता जारी रहनुलाई सकारात्मक संकेत भन्दै दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेका छन् । पाकिस्तानले पनि मध्यस्थकर्ताको भूमिकालाई निरन्तरता दिँदै संवादलाई सफल बनाउन प्रयास गरिरहेको छ ।
यदि यो वार्ता सफल भयो भने दशकौँदेखिको अमेरिका–इरान तनावमा नयाँ कूटनीतिक अध्याय सुरु हुन सक्नेछ । तर, हालको अवस्था संवेदनशील भएकाले परिणाम अनिश्चित रहेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।



















