
काठमाडौं । ६ दिनपछि बोलाइएको राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित गरिएको छ । बिहीबार दिउँसो १ः१५ बजेका लागि तय गरिएको बैठक विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो ।
संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार राष्ट्रियसभाका अध्यक्षको निर्देशनमा निर्धारित बैठक सञ्चालन हुन नसक्ने भएपछि अर्को बैठक शुक्रबार दिउँसो १ः१५ बजेलाई तय गरिएको छ । राष्ट्रियसभाको अघिल्लो बैठक असार ५ गते बसेको थियो ।
त्यसपछि ६ दिनको अन्तरालमा बिहीबारका लागि बैठक बोलाइए पनि कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो । बैठक किन बस्न सकेन भन्ने विषयमा सूचनामा विस्तृत कारण खुलाइएको छैन ।
यसअघि प्रतिनिधिसभाको बैठक पनि बस्न नसकी स्थगित भएको थियो । लगातार संसद्का दुवै सदनका बैठक प्रभावित हुँदा विधेयक तथा अन्य संसदीय कामकारबाही प्रभावित भएका छन् ।



















