
अमेरिका । साविक उपविजेता फ्रान्सले केलियन एम्बाप्पेको उत्कृष्ट प्रदर्शनमा स्विडेनलाई ३–० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।
बुधबार बिहान सम्पन्न अन्तिम ३२ को खेलमा एम्बाप्पेले दुई गोल गर्दै टोलीको सहज जितमा निर्णायक भूमिका खेले । यस जितसँगै फ्रान्सले क्वाटरफाइनल प्रवेशका लागि जर्मनीलाई पराजित गरेर अघि बढेको पाराग्वेसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
फ्रान्सका मिडफिल्डर माइकल ओलिसेले जारी विश्वकपमा पाँचौं असिस्ट पूरा गरेका छन् । सन् १९९४ मा जर्मनीका थोमस हेसलरले एउटै विश्वकप संस्करणमा गरेको पाँच असिस्टपछि अर्का खेलाडीले पहिलो पटक उक्त उपलब्धि दोहोर्याएका हुन् । फ्रान्सले प्रतियोगितामा आफ्नो यात्रा निरन्तर अगाडि बढाए ओलिसेसँग यो कीर्तिमान अझ सुधार्ने अवसर पनि रहनेछ ।
यता एम्बाप्पे गोल्डेन बुटको प्रतिस्पर्धामा पनि बलियो दाबेदार बनेका छन् । स्विडेनविरुद्ध दुई गोल गरेसँगै उनले जारी विश्वकपमा आफ्नो गोल संख्या ६ पुर्याउँदै लियोनेल मेसीको बराबरी गरेका छन् ।
विश्वकप इतिहासमा एम्बाप्पेको कुल गोल संख्या अब १८ पुगेको छ । सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा उनी मेसीभन्दा एक गोलले मात्र पछाडि रहेका छन् ।

























