नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार १७, बुधबार १०:०७
नौ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नौ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको यस कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम ती कम्पनीहरूलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

कार्यालयले जारी गरेको सूचना अनुसार दोलखास्थित ओमबुद्ध कन्स्ट्रक्सनलाई सबैभन्दा बढी तीन वर्षका लागि कालोसूचीमा राखिएको छ ।

त्यस्तै, लोहनी एण्ड ब्रदर्श (चितवन), सेभिका कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ कन्सल्टेन्सी (सुर्खेत) र राजेन्द्र / थेगिम जेभी (कैलाली) लाई एक वर्ष छ महिनाका लागि सार्वजनिक खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी रोक लगाइएको छ।

एक वर्षका लागि कालोसूचीमा पर्ने कम्पनीहरूमा कृष्ण कन्स्ट्रक्सन (जाजरकोट), सेभिका / बेहडाबाबा जेभी (कैलाली), विजयश्वरी निर्माण सेवा (जाजरकोट), दिनकर कन्स्ट्रक्सन (सर्लाही) र ललिता अम्बाय सप्लायर्स एण्ड कन्स्ट्रक्सन (इलाम) रहेका छन् ।

विभिन्न सार्वजनिक निकायहरूको सिफारिसका आधारमा उनीहरूलाई कालोसूचीमा राख्ने निर्णय गरिएको कार्यालयले जनाएको छ । कालोसूचीमा परेको अवधिसम्म यी कम्पनीहरूले नेपालभरका कुनै पनि सरकारी वा सार्वजनिक निकायले सञ्चालन गर्ने खरिद प्रक्रिया, ठेक्का तथा बोलपत्रमा सहभागी हुन पाउने छैनन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.