विश्वकपमा अब क्वाटरफाइनलको दौड, यी हुन् अन्तिम १६ मा पुगेका टोली

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २०, शनिबार १३:४१

अमेरिका । अमेरिकामा जारी फिफा विश्वकप २०२६ को नकआउट चरणको पहिलो चरण (राउन्ड अफ ३२) सम्पन्न भएसँगै प्रि–क्वाटरफाइनल अर्थात् अन्तिम १६ को समीकरण पूरा भएको छ ।

शनिबार बिहानसम्म भएका सबै खेलको नतिजापछि उपाधि होडमा रहने १६ टोलीको टुंगो लाग्दा केही बलिया टोली अप्रत्याशित रूपमा प्रतियोगिताबाट बाहिरिएका छन् । दाबेदार राष्ट्रहरूले भने आफ्नो यात्रा कायम राखेका छन् ।

यसपटकको विश्वकपमा चार पटकको पूर्वविजेता जर्मनी, गत संस्करणमा तेस्रो स्थान हासिल गरेको क्रोएसिया, युरोपेली फुटबलको अर्को शक्तिशाली टोली नेदरल्यान्ड्स, एसियाली फुटबलको बलियो राष्ट्र जापान तथा अफ्रिकाको सम्भावित डार्क हर्स मानिएको सेनेगल राउन्ड अफ ३२ बाटै बाहिरिएका छन् । यी टोलीको बहिर्गमनलाई यस चरणका सबैभन्दा ठूला अप्रत्याशित नतिजामध्ये एक मानिएको छ ।

यता साविक विजेता अर्जेन्टिना, उपविजेता फ्रान्स, गत विश्वकपमा चौथो भएको मोरक्को, युरोपेली शक्तिहरू स्पेन, इंग्ल्यान्ड, पोर्चुगल र बेल्जियमसहित ब्राजिल, अमेरिका, क्यानडा, मेक्सिको, पाराग्वे, नर्वे, स्विट्जरल्यान्ड, इजिप्ट तथा कोलम्बियाले अन्तिम १६ मा स्थान सुरक्षित गरेका छन् ।

राउन्ड अफ ३२ का खेलहरूमा सहआयोजक क्यानडाले दक्षिण अफ्रिकालाई पराजित गर्दै घरेलु समर्थकमाझ अर्को चरणको यात्रा तय गर्‍यो । ब्राजिलले जापानमाथि जित निकाल्दै आफ्नो उपाधि अभियानलाई निरन्तरता दियो भने जर्मनी पाराग्वेसँग टाइब्रेकरमा स्तब्ध बन्यो ।

मोरक्कोले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा हराउँदै अर्को ठूलो उलटफेर गर्‍यो । नर्वेले आइभरी कोस्टलाई पराजित गर्दा फ्रान्सले स्वीडेनलाई हराएर अन्तिम १६ मा स्थान सुरक्षित गर्‍यो ।

त्यस्तै, मेक्सिकोले इक्वेडरलाई पराजित गर्‍यो भने इंग्ल्यान्डले कङ्गोलाई हरायो । बेल्जियमले सेनेगलको चुनौती समाप्त पार्दा अमेरिका बोस्निया एन्ड हर्जगोभिनालाई पराजित गर्दै अर्को चरणमा प्रवेश गर्‍यो ।

स्पेनले अस्ट्रियालाई हरायो भने पोर्चुगलले क्रोएसियालाई पराजित गरेर अन्तिम १६ मा स्थान बनायो । स्विट्जरल्यान्डले अल्जेरियालाई पराजित गर्दा इजिप्टले अस्ट्रेलियामाथि टाइब्रेकरमा रोमाञ्चक जित निकाल्यो ।

साविक विजेता अर्जेन्टिनाले केप भर्डेलाई पराजित गर्दै आफ्नो लय कायम राख्यो भने कोलम्बियाले घानालाई हराएर अन्तिम १६ मा स्थान पक्का गर्‍यो । अब प्रतियोगिताको राउन्ड अफ १६ अन्तर्गत पहिलो खेलमा सहआयोजक क्यानडा र मोरक्को आमनेसामने हुनेछन् । यो खेल शनिबार राति पौने ११ बजे सुरु हुनेछ।

त्यसपछि पाराग्वे र फ्रान्सबीचको प्रतिस्पर्धा आइतबार बिहान पौने ३ बजे हुनेछ । सोमबार बिहान पौने २ बजे ब्राजिल र नर्वेबीच प्रतिस्पर्धा हुनेछ । सोही दिन बिहान मेक्सिको र इंग्ल्यान्ड पनि अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रनेछन् ।

मंगलबार बिहान पौने १ बजे युरोपका दुई बलिया टोली पोर्चुगल र स्पेन आमनेसामने हुनेछन् । त्यसपछि अमेरिका र बेल्जियमबीच पनि क्वाटरफाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

मंगलबार राति पौने १० बजे साविक विजेता अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ भने अन्तिम खेल बुधबार बिहान पौने २ बजे स्विट्जरल्यान्ड र कोलम्बियाबीच हुनेछ । यी आठ खेलबाट विजयी हुने टोलीहरूले विश्वकप २०२६ को क्वाटरफाइनल यात्रा तय गर्नेछन् भने पराजित टोलीको उपाधि सपना यही चरणमा समाप्त हुनेछ ।

तपाइको प्रतिक्रिया
विश्वकपमा अब क्वाटरफाइनलको दौड, यी हुन् अन्तिम १६ मा पुगेका टोली
नसुध्रिएका अभिषेक गिरी : ९ वर्ष जेल बसेर छुटेपछि पनि पुरानै धन्दा
मोरङका सीमा क्षेत्रको निरीक्षणमा गृहमन्त्री गुरुङ : ‘प्रहरीका जीर्ण भवन छिट्टै निर्माण गर्छौं’
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
संस्कार, सुशासन र समृद्धिको शासकीय सूत्र
कोलम्बिया अन्तिम १६ मा, अब स्विट्जरल्यान्डसँग भेट
सय दिन पूरा गरेको बालेन सरकारले सार्वजनिक गर्दैछ कार्यसम्पादन विवरण
दुई डीआईजीको सरुवा, कार्य विभाग र अख्तियारमा जिम्मेवारी हेरफेर
जीवन यात्रा र गुरुको मार्ग दर्शन
जीवन यात्रा र गुरुको मार्ग दर्शन
गृहमन्त्री सुधन गुरुङ विराटनगर आउँदै
नेपाली कामदारलाई कोरिया पठाउन म्यानपावरका लागि बाटो खुला
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.