देशभर करिब २५ प्रतिशत धान रोपाइँ हुँदा कोशीमा १५ प्रतिशत 

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार १५:३२
देशभर करिब २५ प्रतिशत धान रोपाइँ हुँदा कोशीमा १५ प्रतिशत 

काठमाडौं । मनसुनको ढिलाइ र पर्याप्त वर्षाको अभावका कारण यस वर्ष धान रोपाइँको गति केही सुस्त देखिएको छ । असार १९ गतेसम्म देशभर करिब २५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।
देशभर चालु आर्थिक वर्ष २०८३/८४ को धान रोपाइँ असार १९ गतेसम्म २४.९ प्रतिशत सम्पन्न भएको छ ।

मन्त्रालयका अनुसार कुल १३ लाख ७० हजार ६२ हेक्टर धान खेती हुने क्षेत्रफलमध्ये ३ लाख ४१ हजार २०९.४६ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो ।

प्रदेशगत विवरणअनुसार कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६.७३ हेक्टरमध्ये ४२ हजार ३५७.९६ हेक्टर (१५.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । मधेस प्रदेशमा ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ६० हजार ३४६.०६ हेक्टर (१५.६४ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

बागमती प्रदेशमा १ लाख १४ हजार ५२४.४ हेक्टरमध्ये ३८ हजार २६.१७ हेक्टर (३३.२१ प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेशमा ९३ हजार ६०६ हेक्टरमध्ये ३५ हजार ८८१.४ हेक्टर (३८.३३ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको छ ।

लुम्बिनी प्रदेशमा ३ लाख १ हजार ३७२ हेक्टरमध्ये ६२ हजार ६७०.८७ हेक्टर (२०.८० प्रतिशत) क्षेत्रमा धान रोपाइँ भएको छ । कर्णाली प्रदेशमा ४३ हजार २९० हेक्टरमध्ये १२ हजार १८५ हेक्टर (२८.१५ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ ।

सबैभन्दा बढी प्रगति सुदूरपश्चिम प्रदेशमा देखिएको छ । त्यहाँ १ लाख ५४ हजार ९५० हेक्टरमध्ये ८९ हजार ७४२ हेक्टर (५७.९२ प्रतिशत) क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जनाएको छ । यस वर्ष भने मनसुन ढिलो सक्रिय हुनु र पर्याप्त वर्षा हुन नसक्दा गत वर्षको तुलनामा धान रोपाइँको गति सुस्त रहेको देखिएको मन्त्रालयको तथ्यांकले जनाएको छ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.