लागुऔषधसहित दुई जना पक्राउ

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २१, आइतबार १२:२६
लागुऔषधसहित दुई जना पक्राउ

विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित विराट चोक र बाघ झोडा क्षेत्रमा लागुऔषधको जालो तोड्दै प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

सुन्दरहरैँचा नगरपालिका–१० का ३६ वर्षीय जीवन राई र सोही ठाउँका  २६ वर्षीय सुशान्त राईलाई लागुऔषधसहित पक्राउ गरिएको मोरङ प्रहरीका डीएसपी सन्तोष श्रेष्ठले जानकारी दिए । इलाका प्रहरी कार्यालय बेलबारीको विशेष टोलीले चलाएको ‘एक्सन’का क्रममा खैरो हेरोइन (ब्राउन सुगर) र जमिनमुनि गाडेर राखिएको ठुलो परिमाणको प्रतिबन्धित औषधि बरामद भएको हो ।

लागुऔषधको कारोबार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीको नेतृत्वको टोलीले विराट चोक क्षेत्रमा शंकास्पद अवस्थामा रहेका जीवन राईलाई खानतलासी गर्दा उनको साथबाट ०.२८ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

लगत्तै गरिएको थप अनुसन्धान र खोजीका क्रममा बाघ झोडाका सुशान्तको घरमा पुगेको थियो । सुशान्तको घरमा खानतलासी गर्ने क्रममा घर अगाडिको करेसाबारीमा जमिन मुनी गाडेर लुकाएको अवस्थामा लागुऔषध ‘निट्जासेन १०’ नामक औषधि ३० पत्ता (३०० ट्याब्लेट) फेला परेको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार दुवैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीमा राखेको छ। उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐनअन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.