
विराटनगर । मोरङको लेटाङ नगरपालिका–४ स्थित एक खाली घरमा दुई थान बेवारिसे कटुवा पेस्तोल फेला परेको छ । स्थानीय रामलखन साहको कोही नबस्ने पक्की घरमा खेल्ने क्रममा बालबालिकाहरूले ती हतियार फेला पारेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पुरानो बसपार्क नजिकै रहेको उक्त घरमा बालबालिकाहरू खेलिरहेका बेला अचानक हतियार देखेपछि उनीहरूले डरले होहल्ला गरेका थिए । बालबालिकाको आवाज सुनेर भेला भएका स्थानीय बासिन्दाले तत्कालै इलाका प्रहरी कार्यालय लेटाङलाई जानकारी गराएका थिए ।
खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक सागर साहको नेतृत्वमा खटिएको प्रहरी टोलीले घटनास्थल पुगेर खानतलासी गरेको थियो । सो क्रममा खिया लागेर अत्यन्त जीर्ण (पुरानो) अवस्थामा रहेका दुई थान कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनास्थलको कानुनी प्रक्रिया पूरा गरी बरामद गरिएका पेस्तोलहरू इलाका प्रहरी कार्यालय लेटाङमा राखेको छ । ती हतियार कसले र कहिले त्यहाँ राखेको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























