अभिषेक गिरीलाई काठमाडौं लगियो

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २२, सोमबार २१:३८

विराटनगर । जिल्ला अदालत मोरङले हाजिरी जमानीमा छाड्ने आदेश दिएलगतै प्रहरीले आपराधिक पृष्ठभूमिका ‘गुन्डानाइके’ अभिषेक गिरीलाई काठमाडौं लगेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले अनुसन्धानका लागि काठमाडौं लगेको हो ।

मोरङ प्रहरीले संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा म्याद थपका लागि गिरीलाई सोमबार जिल्ला अदालत मोरङमा उपस्थित गराएको थियो । तर, न्यायाधीश टंकबहादुर महतको इजालसले गिरीविरुद्ध म्याद थप गर्न अस्वीकार गर्दै हाजिरी जमानीमा छाड्ने आदेश दिएको थियो ।

मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालका अनुसार सीआईबीले गिरीमाथि ठगी र आपराधिक विश्वासघात मुद्दामा पक्राउ अनुमति लिएका कारण थप अनुसन्धानका लागि काठमाडौं पठाइको हो । विराटनगर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत काठमाडौं पठाइएको उनले बताए ।

विराटनगर महानगरपालिका–८ स्थित आफ्नै घरबाट असार १३ गते पक्राउ परेका गिरीमाथि आपराधिक लाभ सम्बन्धी कसुरमा मोरङ प्रहरीले अनुसन्धान गरिरहेको थियो । गिरीलाई छाड्न माग गर्दै उच्च अदालत विराटनगरमा बन्दीप्रत्यक्षीकरण रिट दायर भएको थियो । रिट खारेज गर्दै उच्च अदालत विराटनगरका न्यायाधीशद्वय गणेश ठाकुर र नारायणप्रसाद रेग्मीको संयुक्त इजलासले अनुसन्धान ५ दिनभित्र सक्न आदेश दिएको थियो । तर, गिरीलाई अरु दुईवटा मुद्दा संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा म्याद थप गर्न प्रहरीले सोमबार जिल्ला अदालत मोरङ उपस्थित गराएको थियो ।

जिल्ला अदालतले गिरीको हकमा उच्च अदालतको असार १७ गतेको आदेश अनुसार गर्नु भन्ने आदेश दिएको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उच्चकै आदेश अनुसार जिल्लाले गिरीलाई म्याद थप गर्न अस्वीकार गरेको उनले बताए ।

गिरीसँगै अनुसन्धान जारी रहेका तीन जनाको हकमा भने आपराधिक लाभ मुद्दामा सोमबारबाट लागू हुने गरी जिल्ला अदालतले ७ दिनको म्याद थप गरेको अदालतका सूचना अधिकारी बुढाथोकीले बताए । उनका अनुसार विजय कामत, सञ्जयकुमार मण्डल र विनोदकुमार सिंहमाथि आपराधिक लाभ मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.