
अमेरिका । विश्व फुटबलका चर्चित फरवार्ड नेयमारले ब्राजिलको राष्ट्रिय टोलीबाट आफ्नो अन्तर्राष्ट्रिय फुटबल यात्राको अन्त्य गरेका छन् । विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत सोमबार बिहान भएको प्रतिस्पर्धामा नर्वेसँग २–१ ले पराजित हुँदै ब्राजिल प्रतियोगिताबाट बाहिरिएलगत्तै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने निर्णय सार्वजनिक गरेका हुन् ।
३४ वर्षीय नेयमारले ब्राजिलका लागि १२९ अन्तर्राष्ट्रिय खेल खेल्दै ८० गोल गरेका छन् । यससँगै उनी ब्राजिलको राष्ट्रिय टोलीका लागि सर्वाधिक गोल गर्ने खेलाडीका रूपमा आफ्नो अन्तर्राष्ट्रिय करिअर टुंग्याउन सफल भएका छन् । लामो समयसम्म टोलीको आक्रमण पंक्तिको नेतृत्व गरेका नेयमारले आफ्नो देशका लागि थुप्रै स्मरणीय उपलब्धि हासिल गरे ।
ब्राजिलको हारपछि निकै भावुक देखिएका नेयमारले आफ्नो अन्तर्राष्ट्रिय यात्रा समाप्त भएको घोषणा गरेका हुन् । उनले भने, ‘मैले प्रयास गरेँ । मैले साँच्चिकै धेरै प्रयास गरेँ । मेरो यात्रा यही मेटलाइफ स्टेडियमबाट सुरु भएको थियो र यहीँ आएर समाप्त भयो । अब सबै कुरा सकियो ।’ उनको यो अभिव्यक्तिसँगै ब्राजिलको राष्ट्रिय टोलीसँगको डेढ दशकभन्दा लामो फुटबल यात्रा औपचारिक रूपमा समाप्त भएको हो ।
नेयमारले सन् २०१० मा ब्राजिलको सिनियर राष्ट्रिय टोलीबाट डेब्यु गरेका थिए । त्यसयता उनले चार संस्करणको विश्वकपमा ब्राजिलको प्रतिनिधित्व गरे । यस्तै, दुई ओलम्पिक खेलमा पनि सहभागी भएका उनले सन् २०१२ मा रजत पदक जितेका थिए भने सन् २०१६ को रियो ओलम्पिकमा कप्तानका रूपमा टोलीलाई पहिलो पटक फुटबलतर्फ स्वर्ण पदक दिलाएका थिए ।
विश्वकप २०२६ मा भने नेयमारको भूमिका सीमित रह्यो । उनले प्रतियोगिताका दुई खेलमा मात्र वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गर्ने अवसर पाए । समूह चरणमा स्कटल्यान्डविरुद्ध दोस्रो हाफमा मैदान छिरेका उनले नर्वेविरुद्धको अन्तिम १६ को खेलमा इन्जुरी समयमा पेनाल्टीमार्फत प्रतियोगितामा आफ्नो एकमात्र गोल गरेका थिए । तर, उनको गोलले पनि ब्राजिललाई हारबाट जोगाउन सकेन ।
यता, बलियो मानिएको ब्राजिललाई पराजित गर्दै क्वार्टरफाइनलमा स्थान बनाएको नर्वेले अब जुलाई ११ मा मियामी स्टेडियममा हुने खेलमा मेक्सिको र इंग्ल्यान्डबीचको विजेतासँग सेमिफाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । ब्राजिलको हारसँगै राष्ट्रिय टोलीबाट नेयमारको बहिर्गमनले विश्व फुटबलको एक महत्त्वपूर्ण अध्यायको पनि अन्त्य भएको छ ।
वर्षौंसम्म आफ्नो कौशल, गति, सिर्जनात्मक खेल र गोल गर्ने क्षमतामार्फत समर्थकलाई रोमाञ्चित बनाएका नेयमार अब अन्तर्राष्ट्रिय फुटबलमा इतिहासका सफल ब्राजिलियन खेलाडीमध्येमा स्मरण गरिनेछन् ।

























