विश्वकपको रोमाञ्चक चरण सुरु हुँदै

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २५, बिहीबार ०७:०५

अमेरिका । फिफा विश्वकप २०२६ को क्वार्टरफाइनल चरण औपचारिक रूपमा सुरु हुन लागेको छ । राउन्ड अफ १६ का सबै खेल टुंगिएसँगै प्रतियोगिताको सबैभन्दा रोमाञ्चक चरण सुरु हुने भएको हो ।

कुल १०४ खेलमध्ये ९६ खेल सम्पन्न भइसकेका छन् । अब जम्मा ८ खेल मात्र बाँकी रहेका छन् । यसमा समूह चरणका ७२ खेल, राउन्ड अफ ३२ का १६ खेल र राउन्ड अफ १६ का ८ खेल गरी सबै प्रारम्भिक चरणहरू पूरा भइसकेका छन् ।

बाँकी रहेका ८ खेलमध्ये ४ वटा क्वार्टरफाइनल, २ वटा सेमिफाइनल, तेस्रो स्थानको १ खेल र फाइनल १ खेल छन् । बुधबार कुनै खेल राखिएन । क्वार्टरफाइनल चरण बिहीबारबाट सुरु हुँदैछ ।

क्वार्टरफाइनलमा फ्रान्स, मोरक्को, नर्वे, इङ्ल्यान्ड, स्पेन, बेल्जियम, अर्जेन्टिना र स्विट्जरल्यान्ड गरी आठ टिम भिड्नेछन् । राउन्ड अफ १६ मा धेरै रोमाञ्चक तथा उलटफेर भरिएका नतिजाहरू देखिएका थिए ।

नर्वेले एर्लिङ हाल्यान्डको दुई गोलको भरमा ब्राजिललाई पराजित गर्दै अघि बढेको थियो भने मोरक्कोले सहआयोजक क्यानाडालाई पराजित गरी आफ्नो ऐतिहासिक यात्रा जारी राखेको थियो । इङ्ल्यान्डले आयोजक मेक्सिकोलाई ३–२ ले हराउँदै अघि बढेको थियो भने अर्जेन्टिनाले इजिप्टविरुद्ध २ गोलले पछि परेको अवस्थाबाट फर्केर ३–२ ले जित हासिल गर्दै यस विश्वकपको सबैभन्दा नाटकीय पुनरागमन देखाएको थियो ।

अब प्रत्येक खेल ‘गर या मर’को अवस्थामा रहनेछन् । एकपटक पराजित भएपछि सम्बन्धित टिमको विश्वकप यात्रा समाप्त हुने भएकाले आगामी खेलहरू अझ दबाबपूर्ण, प्रतिस्पर्धात्मक र रोमाञ्चक हुनेछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.