भवन खाली गर्न कोशी अस्पतालको सूचना, सेवा निरन्तरताका लागि रेडक्रसको आग्रह

मुलुकी खबर
एन्जु शिवाकोटी
clock२०८३ असार २६, शुक्रबार ०६:२०

विराटनगर । विराटनगरको देवकोटा चौकस्थित प्रादेशिक रक्तसञ्चार (ब्लड बैंक) सेवा सञ्चालन भइरहेको भवन खाली गर्न कोशी अस्पतालले सूचना जारी गरेपछि उक्त विषयमा चासो बढेको छ । भवन खाली गर्ने विषयमा अस्पतालले प्रशासनिक प्रक्रिया अघि बढाएपछि नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले सेवा निरन्तरताको सुनिश्चितता गर्न आग्रह गरेको छ ।

कोशी अस्पतालले २०८३ असार ५ गते १५ दिने र असार २२ गते ७ दिने सूचना जारी गर्दै देवकोटा चौकस्थित भवन खाली गर्न निर्देशन दिएको थियो । अस्पतालले भवनको जग्गा आफ्नो स्वामित्व तथा व्यवस्थापनसँग सम्बन्धित रहेको भन्दै आवश्यक प्रक्रिया अघि बढाएको बताएको छ ।

यता, नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाले भने उक्त भवनबाट लामो समयदेखि प्रादेशिक रक्तसञ्चार सेवा सञ्चालन हुदै आएको र सेवा अवरुद्ध भएमा बिरामीको उपचारमा गम्भीर असर पर्न सक्ने जनाएको छ । रेडक्रसका अनुसार प्रादेशिक रक्तसञ्चार सेवाको सुरुआत विक्रम संवत २०२८ सालमा कोशी अस्पतालको आग्रहमा अस्पताल परिसरबाट भएको थियो ।

त्यसपछि २०४२ सालमा तत्कालीन सरकारी निर्णय, स्वास्थ्य सेवा विभागको पत्राचार तथा कोशी अस्पताल व्यवस्थापन समितिको निर्णयपछि समाजसेवी चाँदमल राठीको सहयोगमा हालको भवन निर्माण गरी सेवा सञ्चालन हुँदै आएको दाबी गरिएको छ । साथै, मालपोत कार्यालयको २०५४ भदौ १८ गतेको अभिलेख तथा नापी कार्यालयको फिल्डबुक र नक्सामा समेत सम्बन्धित विवरण रेडक्रसको नाममा रहेको रेडक्रसले दाबी गरेको छ ।

नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाका सभापति सुकदेवप्रसाद मण्डलले रक्तसञ्चार सेवा कुनै संस्था वा भवनभन्दा पनि मानव जीवनसँग जोडिएको विषय भएकाले यसको निरन्तरतामा सबै पक्ष संवेदनशील हुनुपर्ने बताए । ‘रक्तसञ्चार सेवा एक दिन पनि अवरुद्ध हुने अवस्था आउनु हुँदैन । भवनको स्वामित्व सम्बन्धी विषय कानुनी प्रक्रियाबाट समाधान हुन सक्छ । तर, त्यसका कारण बिरामीले समयमा रगत नपाउने अवस्था सिर्जना हुनु हुँदैन,’ उनले भने ।

उनले हाल सञ्चालनमा रहेको केन्द्रबाट सेवा प्रभावित भए दुर्घटना, शल्यक्रिया, प्रसूति जटिलता, क्यान्सर तथा दीर्घरोगी बिरामीहरू प्रत्यक्ष प्रभावित हुने उल्लेख गर्दै सम्बन्धित निकायबीच समन्वय गरेर सेवा निरन्तर सञ्चालन हुने वातावरण बनाउन आग्रह गरे । हाल उक्त केन्द्रबाट दैनिक १०० भन्दा बढी बिरामीले रगत तथा रक्ततत्त्व सेवा लिइरहेका छन् ।

दुर्घटना, प्रसूति जटिलता, शल्यक्रिया, क्यान्सर, थालासेमिया, रक्तअल्पता लगायतका बिरामीको उपचारका लागि आवश्यक पर्ने रगत यही केन्द्रबाट उपलब्ध हुँदै आएको रेडक्रसको भनाइ छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.