
पोखरा । गण्डकी प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाको उत्पादन, प्रयोग र व्यवस्थापनलाई नियमन गर्ने विधेयक सर्वसम्मत रूपमा पारित गरेको छ । सभामुख कृष्णप्रसाद धितालले प्रदेशसभाको बैठकमा विधेयक पारित भएको घोषणा गरेका हुन् ।
विधेयक उद्योग तथा पर्यटनमन्त्री यशोदा रिमालले छलफलका लागि प्रस्तुत गरेकी थिइन् । छलफलमा प्रदेशसभा सदस्य अशोक श्रेष्ठ, गणेशमान गुरुङ, सुशीला सिम्खडा र बिन्दु पौडेलले भाग लिएका थिए ।
नयाँ कानुनी व्यवस्थासँगै गण्डकी प्रदेशमा सरकारले तोकेका क्षेत्रमा औषधि तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती गर्न सकिने भएको छ । गाँजाको बोटमा रहेको नशालु तत्व टीएचसीको मात्रा ०.३ प्रतिशतभन्दा कम हुनुपर्ने प्रावधान राखिएको छ ।
गाँजा खेतीको कानुनी ढोका खुलेसँगै खेती गर्न इच्छुक व्यक्ति वा संस्थाले अनिवार्य रूपमा सरकारी अनुमति लिनुपर्नेछ । साथै, गाँजाको बोट कटान वा बिक्रीअघि यसको रासायनिक परीक्षण गर्नुपर्ने व्यवस्था पनि विधेयकमा समेटिएको छ ।



















