विराटनगरको पोखरीमा हाम फालेका किशोरको शव उठाउने क्रममा २१ सेल अश्रुग्यास प्रहार

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २६, शुक्रबार १७:५७

विराटनगर । गाँजा बोकेर मोटरसाइकलमा हिँडिरहेका बेला प्रहरीबाट लखेटिँदा पोखरीमा हाम फालेर ज्यान गुमाएका किशोरको शव उठाउने क्रममा विराटनगरको भेडियारी शुक्रबार केहीबेर तनावग्रस्त बन्यो ।

शव लैजान अवरोध गर्दै आक्रोशित भिडले प्रदर्शन गरेपछि स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरीले २१ सेल अश्रुग्यास प्रहार गर्नु परेको छ । विराटनगर महानगरपालिका–१८ भेडियारीका १७ वर्षीय मञ्जितकुमार यादव शुक्रबार बिहान १०ः३० बजेतिर भेडियारी पोखरीको बीच भागमा तैरिरहेको अवस्थामा मृत फेला परेका थिए ।

Advertisement

कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि कोशी अस्पताल लैजान खोज्दा मृतकका आफन्त र स्थानीयले बाटो छेकेर प्रदर्शन गरेका थिए । किशोरलाई लखेट्ने प्रहरी टोलीमाथि कारबाहीको माग र मृतक परिवारका लागि क्षतिपूर्तिको माग राख्दै भिडले शव उठाउन दिएन । नारावाजीसहितको प्रदर्शनले अवस्था केहीबेर तनावपूर्ण बन्यो ।

माग पूरा नभएसम्म शव लैजान नदिने अडानमा प्रदर्शनकारीहरू अडिग रहेपछि प्रहरीले स्थिति नियन्त्रणमा लिन सामान्य बल प्रयोग गर्नु परेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए । भिड तितरबितर पार्न लाठी चार्ज गर्नुका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो ।

नेपाल प्रहरीले १० र सशस्त्र प्रहरीले ११ सेल अश्रुग्यास प्रहार गरेको हो । आक्रोशित भिडले ढुंगामुढा गर्दा सशस्त्र प्रहरीका इन्स्पेक्टर तारानाथ गौतमको दाहिने कुइना र घुँडामा सामान्य चोट लाग्यो भने जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत जवान दिलिप आचार्यको बायाँ आँखामा समेत सामान्य चोट लागेको छ । दुवै जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

घटनास्थलमा अराजक गतिविधि गरेको आरोपमा जहदा गाउँपालिका–१ का २१ वर्षीय राजदीप यादवलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका यादवलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू तितरबितर भएका थिए । अहिले अवस्था सामान्य भइसकेको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ ।

गत बुधबार बिहान ८ः५० बजेतिर अस्थायी प्रहरी पोस्ट भेडियारीको टोलीले बीआर ५० एएल ३६८७ नम्बरको भारतीय मोटरसाइकल रोक्न खोजेको थियो । प्रहरीले रोक्न खोज्दा मोटरसाइकल छाडेर चालक फरार भएका थिए ।

भाग्ने क्रममा भेडियारी पोखरीमा हाम फालेर यादव बेपत्ता भएका थिए । यादवको शव शुक्रबार बिहान पानीमाथि तैरिरहेको अवस्थामा फेला परेको थियो । पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको शव घटनास्थलबाट उठाउने क्रममा स्थानीयले अवरोध गरेपछि अवस्था केहीबेर तनावग्रस्त बनेको हो ।

यादवले चलाएको मोटरसाइकलको पछाडि सवार अर्का व्यक्ति भारतको सुपौल जिल्ला गनौरा पञ्चायत–५ का ४१ वर्षीय शिवधर यादवलाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेकाले साथमा बोकेको झोला चेकजाँच गर्दा ६ किलो १३० ग्राम गाँजा बरामद भएको एसपी कटवालले बताए । पक्राउ परेका भारतीय नागरिकमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

विराटनगरमा प्रहरीले पिछा गरेपछि पोखरीमा हाम फालेका किशोर मृत फेला

तपाइको प्रतिक्रिया
बाढीपीडितको उद्धार र राहतलाई तीव्र बनाउने प्रधानमन्त्री शाहको घोषणा
भोटेकोशी बाढी प्रभावितको उद्धार र राहतमा जुट्न एमाले नेता पर्शुराम बस्नेतको अपिल (भिडियोसहित)
एनआरएनएले दिने भयो बाढीपीडितका लागि ५ करोड
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
एलिस च्याम्पियनसिपमा भाग लिन कुस्ती टोली किर्गिस्तान जाँदै 
गोरखामा बाढीले बगाएको ८ शव फेला
बालेनलाई मोदीको फोन, उद्धार र राहतमा सहयोगको प्रतिबद्धता
बाढीको प्रारम्भिक कारण हिम–चट्टान पहिरो भएको संकेत
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या ७२ पुग्यो
राष्ट्रिय स्वतन्त्र पार्टी
बाढीपीडितका लागि सत्तारुढ रास्वपाले ५० लाख दिने
बाढीपछि ४४ सैनिकसहित ८५ सुरक्षाकर्मी र बैंकका २६ कर्मचारी सम्पर्कविहीन
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×