कोशी प्रदेशमा सञ्चार प्रतिष्ठान गठन, अध्यक्षमा दाहाल र रजिष्ट्रारमा भट्टराई नियुक्त

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार २९, सोमबार १८:१०

विराटनगर । कोशी प्रदेश सरकारले ‘प्रदेश सञ्चार प्रतिष्ठान’ गठन गरेको छ । कोशी प्रदेश सरकारको सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिष्ठानको अध्यक्ष, रजिस्ट्रार र सदस्यहरु नियुक्त गरेको हो ।

सरकारको निर्णय अनुसार प्रतिष्ठानको अध्यक्षमा मोरङका अग्रज पत्रकार दीपक दाहाल नियुक्त भएका छन् । नेपाली कांग्रेसनिकट उनी नेपाल पत्रकार महासंघ मोरङका पूर्वअध्यक्षसमेत हुन् । त्यस्तै, प्रतिष्ठानको प्रदेश प्रेस रजिष्ट्रार पदमा सुनसरीका पत्रकार लीलाराज भट्टराईलाई नियुक्त गरिएको छ । भट्टराई नेकपा (एमाले)मा आबद्ध छन् ।

​गठित प्रतिष्ठानको सदस्यहरूमा पत्रकारिता क्षेत्रमा क्रियाशील व्यक्तित्वहरूलाई नियुक्त गरिएको छ । सदस्यहरूमा शान्ति दाहाल (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), माला पालुङ्वा (ताप्लेजुङ), रेणु पराजुली (उदयपुर), विष्णुप्रसाद पोखरेल (झापा), अर्जुन राजवंशी (झापा) र ध्रुव ढकाल (सुनसरी) रहेका छन् । सदस्यहरु पनि कांग्रेस र एमालेले भागबन्डा गरेका हुन् ।

कोशी प्रदेश आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८२ अनुसार नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष पदेन सदस्य रहने व्यवस्था गरिएको छ । ​राजपत्रमा उल्लेखित प्रस्तावना अनुसार प्रदेशभित्र स्थापना हुने वा स्थापना भई सञ्चालनमा रहेका आम सञ्चारमाध्यमको दर्ता, नवीकरण, नियमन, अनुगमन तथा अभिलेखीकरणको व्यवस्था गर्न यो ऐन ल्याइएको हो ।

स्वतन्त्र, निष्पक्ष, मर्यादित र नागरिकप्रति जवाफदेही आमसञ्चार माध्यमको विकास र प्रवर्धनका लागि आमसञ्चार क्षेत्रसँग समन्वय कायम गर्ने तथा क्रियाशील पत्रकार वा जनशक्तिको व्यावसायिक हित अभिवृद्धि गर्न कोशी प्रदेशसभाले ऐन बनाएको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.