स्पेन १६ वर्षपछि विश्वकपको फाइनलमा

Share this
755shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार ०६:१४

अमेरिका । अमेरिकाको टेक्सासस्थित डलास स्टेडियममा सम्पन्न फिफा विश्वकप २०२६ को पहिलो सेमिफाइनलमा स्पेनले साविक उपविजेता फ्रान्सलाई २–० गोलले पराजित गर्दै १६ वर्षपछि विश्वकपको फाइनलमा स्थान सुरक्षित गरेको छ ।

खेलको सुरुवातमा फ्रान्सलाई बलियो दाबेदार मानिए पनि स्पेनले सुरुदेखि नै लय समात्यो । पहिलो हाफको २२औँ मिनेटमा फ्रेन्च डिफेन्डर लुकास डिनले लामिन यमाललाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि स्पेनले पेनाल्टी पायो । पेनाल्टी बचाउन माहिर मानिएका गोलकिपर माइक मेग्ननलाई झुक्याउँदै मिकेल ओयार्जाबालले सहज गोल गर्दै स्पेनलाई अग्रता दिलाए । जारी विश्वकपमा उनको यो पाँचौँ गोल हो ।

Advertisement

स्पेनले दोस्रो गोल ५८औँ मिनेटमा थप्यो । डानी ओल्मोसँग उत्कृष्ट वान–टु–वान पास खेलेका पेड्रो पोरोले फिर्ता आएको बल नियन्त्रणमा लिँदै पोस्टको तल्लो कुनामा उत्कृष्ट प्रहार गरेपछि स्पेन २–० ले अघि बढ्यो ।

पछिल्ला मिनेटमा फ्रान्सले डेसिरे डोए र रायन चेर्कीलाई मैदानमा उतार्दै खेलमा फर्कने प्रयास गर्‍यो । तर, गोलकिपर उनाई सिमोनले स्वीपर किपरको भूमिकामा उत्कृष्ट प्रदर्शन गरे भने डिफेन्डर मार्क कुकुरेलाले कप्तान किलियन एमबाप्पेलाई प्रभावहीन बनाइदिए । खेलभर फ्रान्सले लक्ष्यतर्फ दुईवटा प्रहार मात्र गर्न सक्यो ।

सन् २०१० मा विश्वकप जितेको स्पेन त्यसयता पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो । उता फ्रान्स भने फाइनल पुग्ने लक्ष्यमा असफल भयो । स्पेनले अब उपाधिका लागि अर्जेन्टिना र इंग्ल्यान्डबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

यस खेलसँगै लामिन यमाल र किलियन एमबाप्पेबीचको व्यक्तिगत प्रतिस्पर्धाले पनि नयाँ चर्चा पाएको छ । सन् २०२४ यता राष्ट्रिय टोली र क्लबस्तरका नकआउट प्रतियोगितामा यमालले एमबाप्पेविरुद्ध लगातार छैटौँ जित निकालेका छन् । अर्थात् नकआउट चरणमा यमालविरुद्ध एमबाप्पे अझै जितविहीन छन् ।

सन् २०२४ को युरोकप सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २–१ ले हराएको थियो । त्यसपछि २०२५ को नेसन्स लिग सेमिफाइनलमा स्पेनले फ्रान्सलाई ५–४ ले पराजित गर्‍यो । क्लब फुटबलमा पनि यमालको बार्सिलोनाले एमबाप्पेको रियल मड्रिडलाई २०२५ को स्पेनिस सुपरकप फाइनल (५–२), २०२५ को कोपा डेल रे फाइनल (३–२) र २०२६ को सुपरकोपा फाइनल (३–२) मा पराजित गरिसकेको छ । विश्वकप सेमिफाइनलको जितसँगै यमालले एमबाप्पेविरुद्ध आफ्नो अपराजित यात्रा थप बलियो बनाएका छन् ।

सेमिफाइनलअघि यमालले फ्रान्सले स्पेनसँग डराउनुपर्ने प्रतिक्रिया दिएका थिए । खेलको नतिजाले उनको आत्मविश्वासलाई सही सावित गरिदियो । यस खेलमा उनले प्रत्यक्ष गोल नगरे पनि पेनाल्टी दिलाएर टोलीको जितमा निर्णायक भूमिका खेले ।

उता एमबाप्पेको विश्वकप यात्रा भने सेमिफाइनलमै टुंगिएको छ । फ्रान्सलाई अन्तिम चारसम्म पुर्‍याउने क्रममा उनले ८ गोल र ३ असिस्ट गरेका थिए । यही हारसँगै गोल्डेन बुट र उत्कृष्ट खेलाडी बन्ने उनको सम्भावनामा पनि धक्का पुगेको छ । हाल उनी ८ गोलसहित अग्रस्थानमा रहे पनि अर्जेन्टिनाका लियोनल मेसी (८ गोल, १ असिस्ट), इंग्ल्यान्डका ह्यारी केन र जुड बेलिङ्घम (समान ६ गोल) तथा स्पेनका मिकेल ओयार्जाबाल (५ गोल) अझै प्रतिस्पर्धामा छन् ।

सन् २०१८ मा पहिलोपटक विश्वकप जितेका एमबाप्पेले २०२२ को संस्करणमा ८ गोल गर्दै गोल्डेन बुट जितेका थिए । तर, यसपटक उनको यात्रा स्पेनसँगको हारसँगै कमजोर भएको छ भने स्पेन १६ वर्षपछि फेरि विश्वकपको उपाधि भिडन्त गर्ने ठाउँमा पुगेको छ ।

तपाइको प्रतिक्रिया
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
जेसीज तालिम सप्ताह: एकै दिन ‘स्टार्ट अप माइन्ड सेट’ र ‘एआई फर न्युज रुम’ तालिम
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
कोशीका सबै पूर्वाधार विकास कार्यालयलाई ‘हाई अलर्ट’मा रहन निर्देशन
काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति शर्माको निधन
मोरङ कारागारमा २८१ कैदीबन्दीको आँखा परीक्षण, ४० जनामा मोतियाविन्दु
कांग्रेस इटहरीको सचिवमा शिक्षकको उम्मेदवारी, कानुनी प्रश्न उठेपछि फिर्ता !
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न आग्रह
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
एसियाली खेलकुदमा नेपाललाई पहिलो पदक कराँतेमा  
पोखराबाट फ्लाई दुबईको नियमित उडान सुरु
ताप्लेजुङमा भिरबाट लडेर पुरुषको मृत्यु
कोशी, बागमती र गण्डकीमा ‘धेरै भारी’ वर्षाको सम्भावना 
भारी वर्षाको सम्भावनापछि मोरङ र सुनसरी प्रशासनद्वारा सतर्कता अपनाउन आग्रह
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×