वन्यजन्तुको संरक्षणका लागि पाेखरी निर्माण

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार ०८:२८

भोजपुर । वन्यजन्तुको संरक्षण र खडेरीको समयमा पानीको अभाव कम गर्ने उद्देश्यले भोजपुरको भुल्के छोक्ला सामुदायिक वनमा एउटा पोखरी निर्माण गरिएको छ।

डिभिजन वन कार्यालय भोजपुरको प्राविधिक सहयोग तथा समन्वय र स्थानीय सामुदायिक वन उपभोक्ता समूहको सक्रियतामा यो पोखरी तयार पारिएको हो।

जलवायु परिवर्तनका कारण वन क्षेत्रमा तापक्रम बढ्नुका साथै पानीका प्राकृतिक स्रोतहरू सुक्दै जान थालेका छन्। जसले गर्दा वन्यजन्तुहरू पानीको खोजीमा मानव बस्तीमा पस्ने र मानव-वन्यजन्तु द्वन्द्व बढ्ने समस्या देखिएको छ।

वन क्षेत्रभित्रै पानीको व्यवस्था भएपछि वन्यजन्तुलाई बस्तीमा आउनबाट रोक्न र उनीहरूको संरक्षण गर्न यो पोखरीले ठूलो सहयोग पुर्‍याउने डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाले बताए।

वन कार्यालयका वन अधिकृत नुर मुहमत मियाका अनुसार यो पोखरी ‘वन्यजन्तु तथा बासस्थान संरक्षण कार्यक्रम’ अन्तर्गत निर्माण गरिएको हो। पोखरी निर्माणमा डिभिजन वन कार्यालयको तर्फबाट ५ लाख रुपैयाँ र उपभोक्ता समूहको ५३ हजार रुपैयाँ बराबरको श्रमदान गरी कुल ५ लाख ३८ हजार रुपैयाँ खर्च भएको छ।

वनमै पानी उपलब्ध भएपछि वन्यजन्तुहरू आफ्नै बासस्थानमा सुरक्षित बस्न सक्ने र यसले वातावरणीय सन्तुलन तथा जैविक विविधता संरक्षणमा समेत टेवा पुग्ने वन कार्यालयका कर्मचारी सीताराम ओझा र उपभोक्ता समितिका अध्यक्ष हर्कबहादुर भट्टराईले स्पष्ट पारे।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.