तीन महिनामै नेप्सेमा ठूलो पहिरो, लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति

Share this
730shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ असार ३१, बुधबार १८:३९

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नयाँ सरकार गठनसँगै सेयर बजारमा सुधार आउने अपेक्षा गरेका लगानीकर्ताहरू अहिले निराश बनेका छन् ।

सरकार बनेयता नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर ओरालो लाग्दा लगानीकर्ताले झन्डै ६ खर्ब रुपैयाँ बराबर गुमाएका छन् । तीन महिनामै नेप्सेमा ठूलो पहिरो गएपछि लगानीकर्ताको सम्पत्तिमा झन्डै ६ खर्ब रुपैयाँको क्षति पुगेको हो । बजारमा आएको लगातारको गिरावटपछि ठूलो क्षति भएसँगै लगानीकर्ताहरू सडक आन्दोलनमा उत्रिन थालेका छन् ।

सरकार गठनअघि २०८२ चैत १२ गते नेप्से परिसूचक २ हजार ९५० विन्दुमा पुगेको थियो । त्यसयता बजार लगातार घट्दै हाल २ हजार ५७६ विन्दुमा झरेको छ । यस अवधिमा नेप्से परिसूचक १२.६७ प्रतिशतले घटेको छ भने कुल बजार पुँजीकरण ५० खर्ब ९ अर्ब रुपैयाँबाट घटेर ४४ खर्ब २६ अर्ब रुपैयाँमा सीमित भएको छ । यसरी बजार पुँजीकरणमा करिब ५ खर्ब ८३ अर्ब रुपैयाँको गिरावट आएको छ ।

नेपाल सेयर धनी संघका अध्यक्ष जीएस पाण्डेका अनुसार लगानीकर्ताले गुमाएको रकम नेपालको वार्षिक बजेटको २७ प्रतिशतभन्दा बढी हो । उनका अनुसार पुँजी बजार अर्थतन्त्रको ऐना भएकाले यसलाई जोगाउन नसके आम लगानीकर्ताको विश्वास पनि कमजोर हुँदै जानेछ ।

सरकार गठनसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेपछि अर्थतन्त्र सुधार हुने र त्यसको सकारात्मक प्रभाव सेयर बजारमा पर्ने विश्वास लगानीकर्ताले गरेका थिए । त्यसमाथि नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्ट तथा नेपाल धितोपत्र बोर्ड (सेबोन)का अध्यक्ष डा. गोपाल भट्टजस्ता अर्थतन्त्र र वित्तीय प्रणाली बुझेका व्यक्तिहरू प्रमुख निकायको नेतृत्वमा रहेकाले बजारप्रति थप आशा जागेको थियो ।

तर, अपेक्षाविपरीत बजार निरन्तर घट्न थालेपछि लगानीकर्ताको मनोबल कमजोर बनेको छ । पछिल्ला तीन महिनामा बढेको दिनभन्दा घटेको कारोबार दिन धेरै रहेको नेप्सेको तथ्यांकले देखाएको छ । विशेषगरी जेठ १५ गते बजेट सार्वजनिक हुँदा २ हजार ७६६ विन्दुमा रहेको नेप्से त्यसयता लगातार ओरालो लागेको छ ।

प्रधानमन्त्री शाहले केही दिनअघि निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गरे पनि त्यसले बजारमा सकारात्मक प्रभाव पार्न सकेको छैन । बजारमा देखिएको लगातारको गिरावटपछि लगानीकर्ताले आन्दोलन सुरु गरेका छन् । मंगलबार तिलक कोइरालाको नेतृत्वमा लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डको कार्यालय घेराउ गर्दै बजार सुधारका लागि तत्काल प्रभावकारी कदम चाल्न माग गरेका थिए ।

लगानीकर्ता कोइरालाले सरकारले बजारलाई आवश्यक नीति, नियम र पूर्वाधार निर्माणमा पर्याप्त ध्यान नदिएको आरोप लगाए । उनका अनुसार लाखौँ लगानीकर्ताको लगानी सुरक्षित हुने गरी नीतिगत र व्यवहारिक सुधार तत्काल आवश्यक छ ।

सेयर बजारमा बढ्दो त्रासको अर्को कारण सरकारले सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई तीव्र बनाउनु पनि रहेको लगानीकर्ताहरूको भनाइ छ । ठूला व्यवसायीमाथि अनुसन्धान अघि बढेपछि बजारमा मनोवैज्ञानिक दबाब बढेको उनीहरूको दाबी छ ।

सेबोनका अध्यक्ष डा. गोपाल भट्टले पनि लगानीकर्ताले यही विषयमा चिन्ता व्यक्त गरिरहेको स्वीकार गरे । उनका अनुसार लगानीकर्ताको मुख्य माग बजारमा अनावश्यक त्रास सिर्जना गर्ने गतिविधि रोक्न र लगानीकर्ताको मनोबल बढाउने वातावरण बनाउनुपर्ने रहेको छ । आफूले भने लगानीकर्तालाई कानुनी अनुसन्धानलाई सामान्य रूपमा लिन र मनोबल कमजोर नबनाउन आग्रह गर्दै आएको उनले बताए ।

बजारमा देखिएको संकटलाई सम्बोधन गर्न नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०८३–८४ को पुँजी बजार नीतिअन्तर्गत ‘क्यापिटल मार्केट टास्क फोर्स’ गठन गर्ने घोषणा गरेको छ । उक्त कार्यदलमा धितोपत्र बोर्ड, नेप्से, सिडिएससी, मर्चेन्ट बैंकर एसोसिएसन, स्टक ब्रोकर एसोसिएसन अफ नेपाल, क्रेडिट रेटिङ संस्था तथा विशिष्टीकृत कोष व्यवस्थापकका प्रतिनिधिहरू रहनेछन् ।

लगानीकर्ताको आन्दोलनपछि सेबोनका अध्यक्ष भट्टले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि छलफल गरेका छन् । त्यसपछि बोर्डले नयाँ पुँजी बजार नीति सार्वजनिक गर्दै नेपालको पुँजी बजारलाई विश्वसनीय, प्रतिस्पर्धी, समावेशी, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको आधुनिक वित्तीय प्रणालीका रूपमा विकास गर्ने लक्ष्य अघि सारेको जनाएको छ ।

नीतिअन्तर्गत धितोपत्रसम्बन्धी कसुरको प्रारम्भिक अनुसन्धानमा अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने, लगानीकर्ता सुरक्षालाई प्राथमिकता दिने, सामाजिक सञ्जालमार्फत हुने भ्रामक प्रचार, अनधिकृत लगानी परामर्श, फिनफ्लुएन्सरमार्फत बजार प्रभावित पार्ने गतिविधि तथा वित्तीय ठगीमाथि कडा नियामकीय निगरानी गर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

लगातारको गिरावट, लगानीकर्ताको बढ्दो असन्तुष्टि र बजार सुधारका लागि नियामकले अघि सारेका योजनाले अब आगामी दिनमा सेयर बजारको दिशा कस्तो हुन्छ भन्ने थप चासो उत्पन्न गराएको छ ।

तपाइको प्रतिक्रिया
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
विराटनगरमा पहिलोपटक उद्योग समिति बैठक, उद्योगीका समस्या समाधानमा जोड
कांग्रेसको सहमहामन्त्रीमा तीन महिला नेतृको उम्मेदवारी घोषणा
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
भोजपुरमा साकेवाथान निर्माण: किराँत संस्कृति र परम्परा नयाँ पुस्तामा पुस्तान्तरण गरिँदै
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
कांग्रेसको नयाँ नेतृत्वका लागि कागजी मतदान
किभ नजान र सहर छाड्न विदेशी नागरिकलाई रुसको चेतावनी
सुनचाँदीको मूल्य घट्यो 
सुनचाँदीको मूल्य घट्यो 
रास्वपाद्वारा स्थानीय चुनाव केन्द्रित नेता परिचालन (सूचीसहित)
भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ४५६ पुग्यो, ४ हजार ७१८ अझै बेपत्ता
बाढीपहिरोले विभिन्न राजमार्ग प्रभावित
रास्वपाले टुंग्यायो १४ विभागका प्रमुख, बनायो उम्मेदवार छनोट समिति
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×