नयाँ आर्थिक वर्षसँगै लागू भए नयाँ कर नीति र कर्मचारीको तलब वृद्धि

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १, शुक्रबार ०६:५३

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३–८४ आज (शुक्रबार)देखि सुरु भएसँगै सरकारले ल्याएको नयाँ कर नीति र राष्ट्रसेवक कर्मचारीको संशोधित तलबमान कार्यान्वयनमा आएको छ ।

सरकारले कर प्रणालीलाई सरल, लगानीमैत्री र उत्पादनमुखी बनाउने तथा कर्मचारीको मनोबल बढाउने उद्देश्यले विभिन्न व्यवस्था लागू गरिएको जनाएको छ । सरकारले व्यक्तिगत आयकरको संरचनामा ठूलो परिवर्तन गरेको छ । यसअघि वार्षिक ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत कर लाग्ने व्यवस्था रहेकामा अब यो सीमा बढाएर १० लाख रुपैयाँ पुर्‍याइएको छ । अधिकतम व्यक्तिगत आयकर दर पनि ३९ प्रतिशतबाट घटाएर २९ प्रतिशत कायम गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार १० लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत, १० देखि १५ लाख रुपैयाँसम्म १० प्रतिशत, १५ देखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ देखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत र ४० लाख रुपैयाँभन्दा बढी आयमा २९ प्रतिशत कर लाग्नेछ । यसबाट विशेषगरी मध्यम तथा उच्च आय भएका करदाताले राहत पाउने सरकारको अपेक्षा छ ।

भन्सार प्रणालीमा पनि परिवर्तन गर्दै ११ तहमा रहेको भन्सार दरलाई घटाएर ७ तहमा सीमित गरिएको छ । २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार महसुल घटाइएको छ भने ३६० प्रकारका वस्तुबाट अन्तःशुल्क हटाइएको छ । तर मदिरा, चुरोट, सुर्तीजन्य पदार्थ, जंक फुड, जुस तथा केही विलासी वस्तुमा अन्तःशुल्क बढाइएको छ ।

यसैगरी पूर्वाधार विकास कर, सडक मर्मत शुल्कलगायतका शीर्षकलाई समेटेर एकीकृत हरित कर (ग्रीन ट्याक्स) लागू गरिएको छ । कृषि क्षेत्रमा २ करोड रुपैयाँसम्म लगानी गर्ने किसानलाई ४० प्रतिशतसम्म प्रोत्साहन अनुदान दिने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

पुँजी बजार सुधारका लागि सरकारले इन्ट्राडे ट्रेडिङ, सर्ट सेलिङ र डेरिभेटिभ कारोबार चरणबद्ध रूपमा सञ्चालन गर्ने नीति लिएको छ । सूचीकृत कम्पनीको सेयर बिक्रीबाट हुने पुँजीगत लाभकरलाई अन्तिम कर (फाइनल ट्याक्स) मान्ने व्यवस्था पनि लागू भएको छ ।

आर्थिक ऐन, २०८३ अनुसार निजी शैक्षिक संस्थाले लिने शुल्कमा ३ प्रतिशत शिक्षा समता शुल्क र निजी स्वास्थ्य संस्थाको सेवामा ३ प्रतिशत स्वास्थ्य समता शुल्क लागू भएको छ । ५० युनिटभन्दा बढी घरायसी विद्युत् उपभोगमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लाग्ने व्यवस्था पनि कार्यान्वयनमा आएको छ ।

यस्तै, पाँचतारे वा सोभन्दा माथिका होटल तथा लक्जरी रिसोर्ट र आयातित मदिरामा २ प्रतिशत विलासिता शुल्क, मिनी क्यासिनोको वार्षिक रोयल्टी ३ करोड रुपैयाँ, सुनचाँदीका गरगहनामा ०.५ प्रतिशत सिप प्रवर्धन शुल्क तथा राइड सेयरिङ सेवामा ५ प्रतिशत सेवा शुल्क लागू गरिएको छ ।

यसैबीच सरकारले राष्ट्रसेवक कर्मचारीको तलब पनि बढाएको छ । चार वर्षपछि गरिएको तलब समायोजनअनुसार सुरु तलब स्केलमा १० प्रतिशत वृद्धि गरिएको छ भने कार्यसम्पादनमा आधारित थप १० प्रतिशत मासिक प्रोत्साहन भत्ताको व्यवस्था गरिएको छ । महँगी भत्ता यथावत् राखिएकाले कर्मचारीको कुल पारिश्रमिक करिब २१ प्रतिशतले बढ्ने सरकारको दाबी छ ।

नयाँ तलबमानअनुसार निजामती, जंगी तथा शिक्षक सेवाका कर्मचारीको ग्रेडसहित न्यूनतम मासिक तलब करिब ४० हजार रुपैयाँ पुगेको छ भने उच्च तहका कर्मचारीको मासिक पारिश्रमिक १ लाख रुपैयाँभन्दा माथि पुगेको छ । नयाँ कर नीति, तलब वृद्धि र मौद्रिक नीतिको कार्यान्वयनले निजी क्षेत्रको लगानी विस्तार, कर्जा प्रवाह वृद्धि, उद्योग व्यवसाय प्रवर्धन तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुग्ने सरकारको दाबी छ ।

तपाइको प्रतिक्रिया
रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश विशेष अदालतको अध्यक्ष बन्दै
दुर्घटनामा १४ जनाको मृत्यु
चिडियाखाना पुनः सञ्चालनमा
अवकाशप्राप्त करार कर्मचारी हटाइने, बाँकीलाई ‘पुल’बाट व्यवस्थापन गरिने
सुनचाँदीको मूल्य लगातार घट्दै 
नयाँ आर्थिक वर्षको पहिलो दिन सुनचाँदीको मूल्यमा उच्च गिरावट
मोरङको केराबारीमा टिपरको ठक्करबाट वृद्धाको मृत्यु
सरकारी विज्ञापनमा ‘एकद्वार प्रणाली’ लागू गर्ने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज
हात्तीको हकमा सर्वोच्चको नयाँ नजिर, सरकारलाई सुधारको मार्गचित्र (पूर्णपाठसहित)
सुदखोरी नियन्त्रणमा सरकारको नयाँ पहल, विशेष कानुनदेखि न्यायाधिकरणसम्मको तयारी
भट्ट र अग्रवालसँग धरौटी माग, तर तत्काल रिहा नहुने
चीनमाथि अमेरिकी मतदाताको डाटा चोरेको गम्भीर आरोप
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.