क्रिकेट जगत् शोकमा, सर्वकालीन महान् अलराउन्डर ग्यारी सोबर्स रहेनन्

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १०:१३

एजेन्सी । विश्व क्रिकेटका सर्वकालीन महान् अलराउन्डरमध्ये एक मानिने वेस्ट इन्डिजका ग्यारी सोबर्सको ८९ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनको निधनसँगै अन्तर्राष्ट्रिय क्रिकेटले आफ्नो एक स्वर्णिम युगका प्रतिनिधि खेलाडी गुमाएको छ ।

सन् १९५४ देखि १९७४ सम्म वेस्ट इन्डिजका लागि खेलेका सोबर्सले ९३ टेस्ट खेलमा ८ हजार ३२ रन बनाएका थिए भने २ सय ३५ विकेट पनि लिएका थिए । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै विधामा असाधारण प्रदर्शन गरेका उनी क्रिकेट इतिहासकै उत्कृष्ट अलराउन्डरका रूपमा चिनिन्छन् । उनको निधनले क्रिकेट जगत् शोकमा डुबेको छ ।

Advertisement

सन् १९५८ मा पाकिस्तानविरुद्ध उनले बनाएको अविजित ३ सय ६५ रन लामो समयसम्म टेस्ट क्रिकेटको सर्वाधिक व्यक्तिगत स्कोरको विश्व कीर्तिमान बनेको थियो । उनको यो कीर्तिमान ३६ वर्षसम्म कायम रह्यो ।

अन्तर्राष्ट्रिय क्रिकेटसँगै उनले इंग्ल्यान्डको नटिंघसायरबाट काउन्टी क्रिकेट पनि खेलेका थिए । क्रिकेटको प्रतिष्ठित पत्रिका विजडन ले उनलाई २०औँ शताब्दीका उत्कृष्ट पाँच क्रिकेटरमध्ये एकका रूपमा समेटेको थियो ।

उनको निधनप्रति वेस्ट इन्डिज क्रिकेट बोर्डले गहिरो दुःख व्यक्त गर्दै भनेको छ, ‘एउटा महान् इनिङ्सको अन्त्य भएको छ ।’ सोबर्सको योगदान र उपलब्धिले विश्व क्रिकेटमा सधैं विशेष स्थान ओगटिरहने विश्वास बोर्डले व्यक्त गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×