मोरङको कानेपोखरीबाट मन्दिरमा चोरी गर्ने गिरोह पक्राउ

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण २, शनिबार १८:३६

विराटनगर । मोरङको कानेपोखरीबाट मन्दिरमा चोरी गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । गिरोहका तीन जनालाई शुक्रबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका सूचना अधिकारी, डीएसपी मकेन्द्रकुमार मिश्रका अनुसार राति करिब ११ बजेतिर कानेपोखरी गाउँपालिका–५ स्थित कानेपोखरी चोकबाट उनीहरुलाई पक्राउ गरिएको हो । पक्राउ पर्नेहरुमा मोरङको उर्लाबारी नगरपालिका–७ का ३१ वर्षीय दिवश दर्जी, २६ वर्षीय विवेक विश्वकर्मा र १८ वर्षीय अर्जुन दर्जी रहेका छन् ।

अस्थायी प्रहरी चौकी कानेपोखरीबाट खटिएको टोलीले चेकजाँच गर्ने क्रममा तीन जनामाथि शंका लागेपछि सोधपुछ गरेको थियो । सोधपुछ गर्दा उनीहरुले कानेपोखरी–५ कै सावायोहाङ किराँत महिम मन्दिरमा चोरी गरेको पत्ता लागेको डीएसपी मिश्रले बताए ।

उनका अनुसार पक्राउ परेकाको साथबाट सवारीसाधन, नगद र सिक्कासहित मन्दिरमा चोरी गरेर ल्याइएका विभिन्न सामग्री बरामद भएको छ । को ३४ प ५७७९ नम्बरको स्कुटर, नगद ६६५ रुपैयाँ, ६२ थान सिक्का, ६० थान तामाको कलश, १२ थान घण्टी, ४६ थान तामाको दियो, तीन थान तामाको थाली, एक थान पिलास, एक थान फलामको हाते हम्बर र ताला फुटाउन प्रयोग हुने एक थान फलामको रड बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय पथरीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी मिश्रले बताए । उनीहरुविरुद्ध चोरीसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ । तीनै जना विगतमा पनि चोरीमा संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×