
विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा कर्फ्यु आदेश उल्लंघन गर्दै प्रदर्शनकारीले आगजनी र तोडफोड सुरु गरेपछि अवस्था नियन्त्रणबाहिर पुगेको भन्दै नेपाली सेना परिचालन गरिएको छ ।
बख्तरबन्द गाडी र अत्याधुनिक हतियारसहित सेनाको टोली मैदानमा खटिएपछि मात्रै तनावग्रस्त क्षेत्रको अवस्था क्रमशः नियन्त्रणमा आएको प्रशासनले जनाएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेका अनुसार बिहानदेखि कर्फ्यु अवज्ञा गर्दै सडकमा उत्रिएको भिडले टायर बालेर प्रदर्शन गरेपछि स्थिति तनावग्रस्त बनेको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो टोली परिचालन भए पनि बढ्दो भिड नियन्त्रण गर्न कठिन भएपछि नेपाली सेना परिचालन गर्नु परेको उनले बताए । बख्तरबन्ध गाडीसहित सेनाको हतियारधारी टोली कप्तानगन्ज पुगेर फिल्डमा खटिएको र त्यसपछि प्रदर्शनकारी तितरबितर हुन थालेका कारण अवस्था सामान्यतर्फ उन्मुख भएको जानकारी घिमिरेले दिए । तर, सेनाको टोली पुग्नुअघि नै प्रदर्शनकारीले पाँचवटा पसलमा तोडफोड र सामानमा आगजनी गरिसकेका थिए ।

प्रहरीका अनुसार एउटा फार्मेसी, एउटा मोटरसाइकल मर्मत गर्ने ग्यारेज र तीनवटा किराना पसलमा तोडफोड गरी भित्र रहेका सामान सडकमा निकालेर आगो लगाइएको हो । सुरक्षाकर्मी तत्काल उपस्थित हुन नसकेका स्थानमा बढी क्षति पुगेको प्रारम्भिक निष्कर्ष रहेको प्रशासनले जनाएको छ ।
प्रजिअ घिमिरेले अवस्था थप बिग्रिए संयुक्त रूपमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले आवश्यक सुरक्षा कारबाही अघि बढाउने चेतावनी दिए । उनका अनुसार परिस्थिति नियन्त्रणभन्दा बाहिर गए थप गोली चलाउनुपर्ने अवस्था पनि आउन सक्ने भएकाले सबैलाई संयमता अपनाउन आग्रह गरिएको छ ।
उनले उच्छृङ्खल गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनअनुसार कडा सुरक्षा कारबाही हुने स्पष्ट पार्दै सेनासहित संयुक्त सुरक्षा टोलीले अब अवस्था नियन्त्रणमा लिइसकेकाले थप क्षति हुन नदिने दाबी गरे । आइतबार रातिको हिंसात्मक झडपपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान ७ बजेदेखि हरिनगरा गाउँपालिकाको घुस्की, भुटाहा, कप्तानगन्ज तथा देवानगन्ज बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो ।
कर्फ्यु लागू भए पनि बिहान करिब १० बजेदेखि करिब एक हजारको संख्यामा प्रदर्शनकारी सडकमा उत्रिएका थिए । कप्तानगन्ज चोकमा टायर बाल्दै नाराबाजी गरेका प्रदर्शनकारी केहीबेरमै तोडफोड र आगजनीमा उत्रिएका थिए । पसलहरूमा आक्रमण हुन थालेपछि स्थानीयमा त्रास फैलिएको थियो भने सर्वसाधारण ज्यान जोगाउन भागदौड गर्न बाध्य भएका थिए ।

एउटा पक्ष प्रदर्शनमा उत्रिएसँगै अर्को पक्ष पनि भेला हुन थालेपछि थप साम्प्रदायिक वा हिंसात्मक घटना हुन नदिन सेना परिचालन गरिएको प्रशासनले जनाएको छ । कप्तानगन्जको घटनाको विरोधमा सुनसरीको लौकही र फूलचोकमा पनि टायर बालेर प्रदर्शन गरिएको छ । प्रदर्शनका कारण पूर्व–पश्चिम लोकमार्गमा बिहानदेखि नै सवारी आवागमन प्रभावित भएको छ ।
राजमार्गमा सवारी साधन रोकिँदा यात्रुहरू समस्यामा परेका छन् । फिल्डमा खटिएका सुरक्षाकर्मीले सम्झाइबुझाइ गर्दै यातायात सञ्चालन गराउने प्रयास गरे पनि सम्भव भइरहेको छैन ।
कप्तानगन्जमा आइतबार राति दुई समुदायबीच भएको हिंसात्मक झडप नियन्त्रण गर्ने क्रममा सुरक्षाकर्मीले गोली चलाउँदा देवानगन्ज गाउँपालिका–३ का २४ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको थियो । गोली लागेर नौ जना सर्वसाधारण घाइते भएका छन्, जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । सर्वसाधारण र सुरक्षाकर्मीसहित २२ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरूको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

सुरक्षा चुनौती बढेपछि कोशी प्रदेशका विभिन्न जिल्लाबाट पनि थप नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा दंगा नियन्त्रणका विशेष टोलीहरू सुनसरी पठाइएको छ । कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी योगेन्द्रसिंह थापाका अनुसार कप्तानगन्जको अवस्था थप संवेदनशील हुन नदिन प्रदेशभरका जिल्लाबाट अतिरिक्त सुरक्षाकर्मी परिचालन गरिएको छ । सुरक्षा उपस्थितिलाई थप सुदृढ बनाउँदै स्थिति पूर्ण रूपमा नियन्त्रणमा ल्याउने प्रयास जारी रहेको जानकारी उनले दिए ।
कप्तानगन्जको अवस्था नियन्त्रणबाहिर, स्थानीयका पसलमा तोडफोड सुरु

























