विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण १२, मंगलबार ०८:५२
एक विद्यालयभित्र शिक्षिकाको शंकास्पद मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका–६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको आवासीय भवनमा एक शिक्षिका मृतवस्थामा फेला परेकी छन् । सर्लाहीको लालबन्दी नगरपालिका–२ घर भई सोही विद्यालयमा अध्यापन गराउँदै आएकी २९ वर्षीया कविताकुमारी ढुंगानाको शव फेला परेको झापा प्रहरीका प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार कविता आफ्ना श्रीमान ३० वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्रै रहेको आवासीय कोठामा बस्दै आएकी थिइन् । पर्साको वीरगञ्ज–१६ स्थायी घर भएका गुप्ता पनि सोही विद्यालयका शिक्षक हुन् । उनीहरू दुवै जना गत वैशाखदेखि सो विद्यालयमा कार्यरत थिए ।

Advertisement

गत साउन ५ गतेदेखि विद्यालय बिदा थियो । सोमबार विद्यालय खुलेपछि दुवै शिक्षक विद्यालयमा अनुपस्थित देखिएपछि खोजी सुरु भएको थियो । उनीहरू बस्ने कोठा बाहिरबाट ताला लगाइएको थियो भने मोबाइल फोन पनि सम्पर्क हुन सकेको थिएन ।

दिनभर सम्पर्क नभएपछि सोमबार बेलुका करिब ४ः३० बजे रतन गुप्ताले विद्यालयका प्रधानाध्यापक दुर्गाबहादुर लुइँटेललाई ह्वाट्सएपमा एउटा सन्देश पठाएका थिए । सो सन्देशमा उनले ‘श्रीमती कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेको, आफूले शवलाई अर्को कोठामा सारेको र डर लागेका कारण त्यहाँबाट निस्किएको’ उल्लेख गरेका थिए । उनले प्रधानाध्यापकलाई कोठाको ताला खोलेर कानुनी प्रक्रिया पूरा गरिदिन समेत अनुरोध गरेको बताइएको छ ।

स्थानीयका अनुसार रतन गुप्तालाई आइतबार साँझ ५ बजेतिर दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको थियो । त्यसपछि उनी कसैको सम्पर्कमा छैनन् ।

डीएसपी अवाले घटनाको पुष्टि गर्दै प्रारम्भिक अनुसन्धान सुरु गरिएको जानकारी दिए । ‘विद्यालय परिसरभित्र महिलाको शव फेला परेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो,’ डीएसपी अवाले भने, ‘मृत्युको ठोस कारण खुल्न सकेको छैन । शवको पोस्टमार्टम र अन्य प्राविधिक पक्षबाट अनुसन्धान अघि बढाइएको छ ।’
प्रहरीले फरार रहेका मृतकका श्रीमान रतन गुप्ताको खोजी कार्यलाई तीव्रता पारेको छ । घटना आत्महत्या हो या हत्या भन्नेबारे पोस्टमार्टम रिपोर्ट आएपछि मात्र यकिन हुने प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×