
काठमाडौं। अघिल्लो कारोबार दिन ३३.२८ अंक घटेको सेयर बजार मंगलबार ४.६४ अंक घटेको छ। यो कमीसँगै नेप्से परिसूचक २६९६ अंकमा झरेको छ।
दिनभर बजार उतारचढावपूर्ण रह्यो। कारोबार अवधिभर दिउँसो १२:१० बजे नेप्से न्यूनतम २६८१ अंकसम्म झरेको थियो। आज कारोबार रकममा पनि गिरावट आएको छ। अघिल्लो दिन ६ अर्ब ७ करोडको कारोबार भएकोमा मंगलबार ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित भयो।
आज ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो भने १३ कम्पनीको मूल्य स्थिर रह्यो। सबै समूहगत सूचकको उतारचढाव १ प्रतिशतभन्दा कम रह्यो। फाइनान्स, होटल तथा पर्यटन, व्यापार र जलविद्युत् समूह बढे भने बैंकिङ, विकास बैंक, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य समूह घटेका छन्।
हालै सूचीकृत भएको एभरेस्ट कलरको मूल्य १५ प्रतिशतले बढेको छ। त्यस्तै याम्बलिङ हाइड्रोपावर, सिर्जनशील लघुवित्त र सानीगढ हाइड्रोको मूल्य पनि बढेको छ। कुथेली बुखरी स्मल हाइड्रोपावर, धौलागिरि लघुवित्त र पन्चकन्या माइ हाइड्रोपावरको मूल्यमा गिरावट आएको छ।
कारोबार रकमका आधारमा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्स अगाडि रहे।



















